धादिङ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक रहेको छ।
हाल देशभर साधारणतया बदली रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थान तथा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थान तथा मधेस र कोशी प्रदेशका तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान छ।
गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।






