धादिङ ,२०८३ भाद्र ४
धादिङ जिल्ला अदालतले फैसला भएकै दिन फैसलाको पूर्णपाठ उपलब्ध गराउने व्यवस्था सुरु गरेको छ। अदालतको यो नयाँ व्यवस्थाले न्यायिक प्रक्रियालाई थप छिटो, सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
धादिङ जिल्ला बार एसोसिएसनका नवनिर्वाचित उपाध्यक्ष अधिवक्ता रामकृष्ण अधिकारीका अनुसार अदालतले आजदेखि फैसला भएको दिनमै पूर्णपाठ दिने व्यवस्था कार्यान्वयनमा ल्याएको हो।
विगतमा कुनै मुद्दाको फैसला हुन नै लामो समय लाग्ने र फैसला भइसकेपछि पनि त्यसको पूर्णपाठ प्राप्त गर्न महिनौँ कुर्नुपर्ने अवस्था थियो। यसका कारण सेवाग्राही, कानून व्यवसायी तथा सम्बन्धित पक्षलाई फैसला कार्यान्वयन र त्यसपछिका कानुनी प्रक्रियामा समेत कठिनाइ हुने गरेको थियो।
तर अब फैसला भएकै दिन पूर्णपाठ उपलब्ध हुने भएपछि सेवाग्राहीले लामो समय कुर्नुपर्ने बाध्यता हट्ने भएको छ। यसले अदालतबाट हुने न्याय सम्पादनलाई थप छिटो, छरितो, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
अधिवक्ता अधिकारीका अनुसार नयाँ व्यवस्थाले न्यायिक प्रक्रियामा देखिँदै आएको ढिलासुस्ती कम गर्नुका साथै फैसला कार्यान्वयनका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाउन समेत सहजता ल्याउनेछ।
धादिङ जिल्ला अदालतको यो पहलबाट लामो समयदेखि न्यायको प्रतीक्षामा रहेका नागरिकलाई राहत पुग्ने र अदालतप्रतिको जनविश्वास अझ बढ्ने अपेक्षा गरिएको छ।







