धादिङ ,२०८३ भाद्र ५

नीलकण्ठ नगरपालिका–८ ससाहदेखि वडा नं. ७ तल्लोबेसी जोड्ने सडकको अवस्था वर्षौंदेखि दयनीय बन्दै गएको छ। पक्की पुल बनेको लामो समय बितिसक्दा पनि पुलदेखि तल्लोबेसीतर्फको अधिकांश सडक कच्ची, खाल्डाखुल्डी र वर्षायाममा हिलाम्मे हुने गरेको छ।

ससाह र तल्लोबेसी जोड्ने पक्की पुल २०६६/६७ सालतिर निर्माण भएको स्थानीयको भनाइ छ। पुल निर्माण भएको करिब डेढ दशक बितिसक्दा पनि पुलसँग जोडिएको सडकको स्तरोन्नति हुन नसक्दा स्थानीयले सास्ती खेप्दै आएका छन्।

अहिले वर्षायाममा सडकको बीचबाटै पानी बग्ने, ढुंगा–माटो थुप्रिने र ठाउँ–ठाउँमा हिलो जम्ने गरेको छ। यसले पैदल यात्रुसँगै मोटरसाइकल तथा अन्य सवारीसाधन सञ्चालनमा समेत समस्या उत्पन्न गरेको छ। नियमित रूपमा सवारीसाधन आवतजावत गर्ने सडकको यस्तो अवस्थाले स्थानीयको दैनिकी नै प्रभावित भएको छ।

स्थानीयको गुनासो सडकको अवस्था मात्र होइन, विकासमा देखिएको प्राथमिकताप्रति पनि छ। नीलकण्ठ नगरपालिकाकै कतिपय क्षेत्रमा तुलनात्मक रूपमा कम सवारीसाधन चल्ने सडकसमेत कालोपत्रे भइसकेका छन्। मुरलीभञ्ज्याङको काउली घुम्ती, भालुवनलगायतका क्षेत्रमा पिच सडक पुगेको अवस्थामा ससाह–तल्लोबेसी सडक भने अझै कच्ची र हिलाम्मे हुनु स्थानीयका लागि विडम्बना बनेको छ।

सबैभन्दा बढी चित्त दुखाइको विषय तल्लोबेसीकै बासिन्दा सांसद तथा मन्त्रीसमेत बनेको अवस्थामा पनि सडकको समस्या समाधान हुन नसकेकोमा स्थानीयको  गुनासो छ। आफ्नै क्षेत्रका व्यक्ति सांसद र मन्त्री बनेर राज्यको महत्वपूर्ण जिम्मेवारीमा पुग्दासमेत गाउँ जोड्ने सडकको अवस्था नफेरिनु दुःखद् भएको स्थानीय बताउँछन्।

“हाम्रै ठाउँका व्यक्ति सांसद र मन्त्रीसमेत बन्नुभयो। तर हामीले वर्षौंदेखि यही हिलो र खाल्डाखुल्डी भएको सडकमा यात्रा गर्नुपर्ने अवस्था छ। विकासको पहुँचमा हामी किन पछि पर्‍यौँ?” स्थानीयको प्रश्न छ।

निर्वाचनका समयमा सडक स्तरोन्नति र विकासका प्रतिबद्धता आउने गरे पनि व्यवहारमा भने समस्या उस्तै रहेको स्थानीयको गुनासो छ। पक्की पुल बनेको वर्षौं भइसक्दा पनि पुललाई जोड्ने सडक व्यवस्थित हुन नसक्नुले योजनाको प्रभावकारिता र विकासको प्राथमिकतामाथि नै प्रश्न उठाएको छ।

पक्की पुल मात्र बनाएर पूर्वाधार विकास पूरा हुँदैन। पुलसँग जोडिएको सडक पनि भरपर्दो र सहज हुन आवश्यक हुन्छ। तर ससाह–तल्लोबेसी सडकको अवस्था हेर्दा पुल एउटा किनारमा विकासको प्रतीक बनेको छ भने त्यसपछि सुरु हुने सडकले स्थानीयको पीडा र राज्यको बेवास्ता झल्काइरहेको देखिन्छ।

स्थानीयवासीले नीलकण्ठ नगरपालिका, प्रदेश सरकार तथा सम्बन्धित जनप्रतिनिधिसँग अब आश्वासन होइन, ससाह–तल्लोबेसी सडकको तत्काल स्तरोन्नति र कालोपत्रेका लागि ठोस पहल गर्न माग गरेका छन्।वर्षौंदेखि पक्की पुलको सुविधा पाएर पनि त्यससँग जोडिएको सडकका कारण सास्ती खेप्नुपर्ने अवस्थाको अन्त्य कहिले हुन्छ भन्ने प्रश्न अहिले तल्लोबेसीवासीले सम्बन्धित निकायसँग गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0