बद्री पौडेल ,धादिङ ,८ भाद्र ,२०८३

नीलकण्ठ नगरपालिकाको महिला विकास शाखामा कार्यरत पूर्वकर्मचारी निर्मला केसीले नीलकण्ठ नगरपालिका–४ मा सञ्चालित आमाको माया छात्रावासलाई एक लाख रुपैयाँ अक्षय कोषका लागि सहयोग गर्नुभएको छ।

केसीले छात्रावासमा आयोजित एक कार्यक्रमबीच उक्त रकम अक्षय कोषमा प्रदान गर्नुभएको हो। उहाँले प्रत्येक वर्ष गर्दै आउनुभएको सहयोग यो वर्ष तेस्रो वर्षमा प्रवेश गरेको हो। आगामी वर्षहरूमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता केसीले व्यक्त गर्नुभएको छ।

आमाको माया छात्रावासका अध्यक्ष डा. नवीनबन्धु पहाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहयोगदाता केसीलाई छात्रावासका  अध्यक्ष तथा सदस्यहरूले दोसल्ला, माला र टीका लगाएर सम्मान गरेका थिए।

कार्यक्रमपछि छात्रावास परिसरमा सन्ध्याकालीन आरतीसमेत गरिएको थियो। आरतीमार्फत निर्मला केसी तथा उहाँको परिवारको सुख, शान्ति र समृद्धिको कामना गरिएको थियो।

छात्रावासमा रहेका बालबालिकाको शिक्षा, पालनपोषण तथा भविष्य निर्माणमा सहयोग पुग्ने गरी स्थापना गरिएको अक्षय कोषमा व्यक्तिगत तथा संस्थागत रूपमा प्राप्त हुने सहयोगले छात्रावास सञ्चालनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0