फुर्केखोलाको पुल बाढीले बगाएपछि धादिङका पाँच स्थानीय तह सदरमुकामसँग सडक सम्पर्कविहीन

धादिङ । रसुवाबाट त्रिशूली नदी हुँदै आएको भीषण बाढीले धादिङको फुर्केखोलास्थित त्रिशूली नदीमाथिको पक्की पुल बगाएपछि जिल्ला सदरमुकाम धादिङबेसी र पृथ्वीराजमार्गबीचको मुख्य सडक सम्पर्क विच्छेद भएको छ। पुल बगेसँगै धादिङका पाँच स्थानीय तहका नागरिकलाई सदरमुकाम आउजाउमा गम्भीर समस्या सिर्जना भएको छ।

बुधबार अपराह्न बाढीले धादिङबेसी–फुर्केखोला (मलेखु) जोड्ने पुल बगाएको हो। फुर्केखोला मलेखु क्षेत्रमा पर्ने भएकाले पुल क्षतिग्रस्त भएपछि धादिङबेसीबाट पृथ्वीराजमार्गतर्फ जाने र राजमार्गबाट सदरमुकाम प्रवेश गर्ने मुख्य मार्ग नै अवरुद्ध भएको छ।

पुल बगेपछि बेनीघाट रोराङ, गजुरी, गल्छी र थाक्रे गाउँपालिका तथा धुनीबेसी नगरपालिकाका नागरिकको सदरमुकाम धादिङबेसीसँगको सहज सडक सम्पर्क प्रभावित भएको छ। यी क्षेत्रबाट सदरमुकामतर्फ आउने अधिकांश यातायात पृथ्वीराजमार्ग हुँदै फुर्केखोला–मलेखु क्षेत्र पार गर्नुपर्ने भएकाले पुल बग्नुले दैनिक आवागमनसँगै सेवा प्रवाहमा समेत असर पर्ने देखिएको छ।

धादिङबेसीबाट पृथ्वीराजमार्ग हुँदै काठमाडौं, चितवन तथा जिल्लाका दक्षिणी क्षेत्रतर्फ जाने सवारीसाधनसमेत फुर्केखोला क्षेत्रमा रोकिनुपर्ने अवस्था आएको छ। यसले यात्रु, बिरामी, विद्यार्थी, व्यवसायी तथा दैनिक उपभोग्य वस्तुको ढुवानीमा समेत प्रत्यक्ष असर पार्ने भएको छ।

यसअघि नै रसुवाको भोटेकोशी नदीमा पानीको बहाव अचानक बढेको र त्यसको असर रसुवा, नुवाकोट, धादिङ हुँदै त्रिशूली नदी किनारका क्षेत्रमा पर्न सक्ने चेतावनी दिइएको थियो। आज बिहानैदेखि भोटेकोशीको बहाव उच्च रहेको र तल्लो तटीय क्षेत्रमा समेत सतर्कता अपनाउनुपर्ने अवस्था रहेको रिपोर्टहरू सार्वजनिक भएका थिए।

बाढीका कारण धादिङको गल्छीस्थित बैरेनी क्षेत्रका बस्तीसमेत प्रभावित भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। त्रिशूली नदी आसपासका अन्य क्षेत्र पनि उच्च जोखिममा रहेकाले स्थानीय प्रशासन र सुरक्षा निकायले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन्।

फुर्केखोलाको पुल धादिङबेसीलाई पृथ्वीराजमार्गसँग जोड्ने महत्वपूर्ण संरचना भएकाले यसको क्षतिले तत्कालीन यातायात मात्र नभई सदरमुकामको आर्थिक तथा प्रशासनिक आवागमनमा समेत ठूलो प्रभाव पार्ने देखिएको छ। पुल पुनः सञ्चालनमा नआएसम्म वैकल्पिक मार्गको खोजी तथा तत्काल यातायात व्यवस्थापन चुनौतीपूर्ण हुने देखिन्छ।

बाढीले पुल मात्रै बगाएको छैन, धादिङको सदरमुकामसँग दक्षिणी धादिङका पाँच स्थानीय तहको सहज सडक सम्पर्कमै ठूलो धक्का पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0