नुवाकोट । बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीस्थित एउटा घरबाट २४ वटा शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार सोमबार उक्त घरभित्र खोजी गर्ने क्रममा २४ वटा शव फेला परेका हुन्। घरभित्र अझै खोजी तथा उद्धारको काम जारी रहेकाले शवको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ।

एसपी रेग्मीले घरभित्र थप शव हुन सक्ने भएकाले खोजी भइरहेको बताए। उनका अनुसार सोमबारसम्म फेला परेका शवको यकिन विवरण संकलन गर्ने काम भइरहेको छ।

एकै घरमा ठूलो संख्यामा शव भेटिएपछि उक्त घर कसको हो र त्यहाँ यति धेरै मानिस कसरी पुगेका थिए भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान थालेको छ। प्रारम्भिक रूपमा उक्त घर होटल वा गेस्ट हाउसजस्तो देखिए पनि यसको पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

‘घर कसको हो भन्ने बुझ्न पाएका छैनौं। वडाध्यक्षसँग पनि सम्पर्क हुन सकेको छैन। होटल वा गेस्ट हाउस जस्तो पनि देखिन्छ तर यकिन भएको छैन,’ एसपी रेग्मीले भने।

भदौ १० गते रसुवाको भोटेकोसी हुँदै आएको बाढीले नुवाकोटसहित आसपासका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। बाढीपछि विभिन्न क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार जारी छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली प्रभावित क्षेत्रमा परिचालन भएर बेपत्ता तथा मृतकको खोजी गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0