राजविराज ,
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको गेटबाहिर ३५ वर्षीया बबिता पासवानले बच्चा जन्माएको घटना सार्वजनिक भएको छ।
राजविराज नगरपालिका–१४ निवासी भागवत पासवानकी बुहारी तथा हरेराम मण्डलकी श्रीमती बबिता सुत्केरी व्यथा लागेपछि अस्पताल पुगेकी थिइन्। परिवारका अनुसार विभिन्न परीक्षणका लागि अस्पतालले ३ हजार २ सय रुपैयाँ मागेको थियो। तत्काल रकम जुटाउन नसकेपछि उपचार नपाएको र घर फर्किन भनिएको परिवारको आरोप छ।
त्यसको केही समयपछि अस्पतालको मुख्य गेटबाहिरै बबिताले आफ्नो तेस्रो सन्तानका रूपमा छोरालाई जन्म दिएकी हुन्। परिवारका अनुसार आमा र नवजात शिशु दुवैको स्वास्थ्य अवस्था अहिले सामान्य छ।
घटनापछि आर्थिक अवस्था कमजोर भएका गर्भवतीलाई उपचारबाट वञ्चित गरिएको हो कि होइन भन्ने विषयमा प्रश्न उठेको छ। घटनाबारे अस्पताल प्रशासनको आधिकारिक धारणा भने सार्वजनिक हुन बाँकी छ।






