बद्री पौडेल ,धादिङ ,२०८३ भाद्र २६ गते

कुशे औँसी तथा बुबाको मुख हेर्ने दिनको अवसरमा नेपाली कांग्रेस महासमिति सदस्य शान्ता तामाङले आफ्ना दिवंगत बुबा स्वर्गीय टेकबहादुर तामाङको पुरानो तस्बिर सार्वजनिक गर्दै उहाँको राजनीतिक जीवन र योगदानलाई स्मरण गर्नुभएको छ।

साबिक दार्खा गाविस–६  हाल खनियाबास वडा न ३ मा जन्मनुभएका टेकबहादुर तामाङ २०३९ सालदेखि २०४६ सालमा बहुदलीय व्यवस्था पुनःस्थापना हुँदासम्म धादिङ जिल्ला पञ्चायतको  दुई कार्यकाल उपसभापति को  जिम्मेवारीमा रहनुभएको थियो। २०४५ सालमा तत्कालीन जिल्ला पञ्चायत सभापति राजेन्द्रप्रसाद पाण्डेले पञ्चायती व्यवस्थाविरुद्ध गतिविधि गरेको आरोपमा जेल जानुपरेपछि तामाङले कार्यवाहक सभापतिको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो।

२०४६ सालमा बहुदलीय व्यवस्था स्थापना भएपछि उहाँ नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको थियो। पञ्चायती व्यवस्थाको समयमा जिल्ला पञ्चायतको जिम्मेवारीमा रहँदा तामाङले विशेषगरी उत्तरी धादिङको विकास र पूर्वाधार विस्तारमा भूमिका खेलेको बताइन्छ।

साबिक दार्खा निवासी गुप्तबहादुर पौडेलका अनुसार स्वर्गीय तामाङकै पहलमा त्यस समयमा दार्खामा आवा सेट (सम्पर्क सञ्चारको व्यवस्था) जडान हुनुका साथै उत्तरी धादिङका विभिन्न स्थानमा प्रहरी चौकी स्थापना,  खाद्य संस्था  स्थापना ,स्वास्थ्य सस्था  तथा केही विद्यालय स्थापनाका लागि पहल भएको थियो। त्यस्तै दुर्गम बस्तीलाई जोड्ने घोडेटो बाटो विस्तारमा समेत उहाँको योगदान रहेको पौडेल बताउनुहुन्छ।

त्यसबेला यातायात, सञ्चार र अन्य आधुनिक पूर्वाधारको पहुँच निकै सीमित रहेको उत्तरी धादिङमा सरकारी सेवा र संस्थाहरू विस्तार हुनु स्थानीय बासिन्दाका लागि महत्वपूर्ण उपलब्धि मानिन्थ्यो।

कुशे औँसीको अवसरमा छोरी शान्ता तामाङले सार्वजनिक गर्नुभएको स्वर्गीय टेकबहादुर तामाङको यो पुरानो तस्बिरसँगै उहाँको राजनीतिक यात्रा र उत्तरी धादिङको विकासमा पुर्‍याएको योगदान पुनः चर्चामा आएको छ।

बहुदलीय व्यवस्था स्थापना भएपछि नेपाली कांग्रेसको राजनीतिमा जोडिनुभएका तामाङको सार्वजनिक जीवन र उत्तरी धादिङमा उहाँले गरेका विकासका पहल स्थानीय राजनीतिक इतिहासको एउटा महत्वपूर्ण पक्षका रूपमा स्मरण गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0