धादिङबेँसी ,२०८३ भाद्र २९

धादिङबेँसीस्थित गणेश मन्दिरबाट  बागमती प्रदेशको लागतमा निर्माण  भइरहेको पक्की पुलको काम करिब ८५ प्रतिशत पूरा भएको छ। पुलको निर्माण अन्तिम चरणमा पुगे पनि सडकसँगको उचाइ नमिलेका कारण तत्कालै सहज रूपमा सवारीसाधन सञ्चालन गर्न कठिन देखिएको छ।

पुल बनेको ठाउँको बजारपट्टिको सडक र अर्कोपट्टिको अवस्थाले पनि यसको उपयोगितामाथि प्रश्न उठाएको छ। पुलको पारिपट्टि नीलकण्ठ नगरपालिका–१२, साँगकोष पर्छ। साँगकोषतर्फको सडकको अवस्था राम्रो छैन भने पुलबाट प्रत्यक्ष लाभ लिन सक्ने घरधुरी तथा बस्ती पनि धेरै देखिँदैनन्।

आज हरितालिका तिज पर्वको उपलक्ष्यमा  पूजा गर्न जाने स्थानीय महिलाहरू पुल आसपास हिँड्दै “यही पुल पशुपति हुँदै साँगकोष–तिप्लिङ सडकखण्डसँग प्रभावकारी रूपमा जोडिएको भए कति सुविधा हुन्थ्यो होला” भन्दै चर्चा गरिरहेका भेटिन्छन्। उनीहरूको भनाइमा पुल मात्र बनाएर पुग्दैन, त्यसलाई व्यवस्थित सडक सञ्जालसँग जोडेर स्थानीयको दैनिक आवतजावत र यातायातमा वास्तविक सुविधा पुग्नुपर्छ।

पुल आसपास निर्माण गरिएको कबड हलसमेत अधुरो अवस्थामा देखिन्छ। एउटा पूर्वाधार पूरा नहुँदै अर्को संरचना निर्माणमा लगानी हुने तर ती संरचनाले अपेक्षित सेवा दिन नसक्ने अवस्था देखिनु स्थानीयका लागि चिन्ताको विषय बनेको छ।

स्थानीयका अनुसार साँगकोष क्षेत्रमा सडक, बस्ती र पूर्वाधारको अवस्थालाई समग्र रूपमा हेरेर योजना बनाइएको भए पुलको उपयोगिता अझ बढी हुने थियो। अहिले भने करोडौँको लगानीमा बनेका वा बन्दै गरेका संरचनाहरूको वास्तविक उपयोगिता र प्राथमिकतामाथि प्रश्न उठ्न थालेको छ।

यता, धादिङबेँसीमा लामो समयदेखि प्रयोगमा रहेको झोलुङ्गे पुल भने नगरपालिकाले केही दिनदेखि खोल्न थालेको छ। आवश्यक ठाउँमा मर्मत गरेर पुनः प्रयोग गर्न सकिने भएकाले पुलका सामग्री सुरक्षित राख्ने उद्देश्यले खोल्न थालिएको नगर प्रहरी प्रमुखले बताएका छन्।

पुल बनिसक्ने चरणमा पुगेपछि अब यसलाई प्रयोगविहीन बनाउने होइन, सडकसँगको उचाइ मिलाउने, पहुँचमार्ग सुधार गर्ने र साँगकोष–तिप्लिङतर्फको सडक सञ्जालसँग जोड्ने कामलाई प्राथमिकता दिनुपर्ने स्थानीयको माग छ।

विकासका नाममा संरचना थपिँदै जाने तर त्यसको उपयोगिता, पहुँच र दीर्घकालीन आवश्यकताको पर्याप्त अध्ययन नहुने हो भने यस्ता अधुरा तथा कम उपयोग हुने योजनाको संख्या अझ बढ्न सक्छ। बनिसकेको संरचनाको सदुपयोग गर्नु र आगामी दिनमा योजना छनोटदेखि निर्माणसम्म आवश्यकताको गम्भीर अध्ययन गर्नु नै अहिलेको मुख्य आवश्यकता देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0