हरितालिका तीजमा शिव–पार्वतीको पूजा आराधना, बाढी प्रभावित परिवारको पीडाले जिल्लामा विगतजस्तो चहलपहल छैन
धादिङ, २९ भदौ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्व आज देशभर शिव–पार्वतीको पूजा आराधना तथा व्रत बसेर मनाइँदैछ। सुख, शान्ति, समृद्धि तथा पारिवारिक कल्याणको कामनासहित महिला तथा पुरुषले तीजको व्रत बस्ने धार्मिक परम्परा छ।
धार्मिक मान्यताअनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेवलाई पति पाउने उद्देश्यले कठोर तपस्या गरेकी थिइन्। पार्वतीलाई उनका साथीहरूले हरण गरी लुकाएर राखेको स्थानमा उनले निराहार व्रत बसेर महादेवको आराधना गरेपछि महादेवलाई पति रूपमा प्राप्त गरेको धार्मिक कथन छ। यही घटनासँग जोडेर भाद्र शुक्ल तृतीयाका दिन हरितालिका तीजको व्रत बस्ने परम्परा सुरु भएको मानिन्छ।
तीजको व्रत विवाहित महिलाले अटल सौभाग्य, सन्तान प्राप्ति तथा परिवारको सुख–शान्तिको कामनाका लागि बस्ने भए पनि अविवाहित युवती तथा पुरुषले समेत असल वर वा वधु प्राप्तिको कामनाका लागि व्रत बस्ने धार्मिक मान्यता रहेको छ।
व्रत बस्नेहरूले आफ्नो स्वास्थ्य अवस्था र क्षमताअनुसार निराहार, जलाहार वा फलाहार व्रत बस्न सक्ने धर्मशास्त्रविद्हरू बताउँछन्। स्वास्थ्य अवस्था कमजोर भएकाहरूले फलफूल तथा अन्य हल्का परिकार सेवन गरेर पनि व्रत बस्न सक्ने मान्यता छ।
तीजको अघिल्लो दिन दर खाने परम्परा पनि नेपाली समाजमा प्रचलित छ। विशेषगरी माइती तथा दाजुभाइले छोरी, चेली तथा दिदीबहिनीलाई बोलाएर विभिन्न परिकार खुवाउने गर्छन्। महिलाहरूले तीजका गीत तथा नृत्यमार्फत आफ्ना सुख–दुःख, पीडा र सामाजिक विषयवस्तुलाई समेत अभिव्यक्त गर्ने गरेका छन्।
तर पछिल्लो समय तीजका नाममा हुने अत्यधिक तडकभडक, गरगहना तथा फेसन प्रदर्शन र महिनौँअघिदेखि दर खाने प्रवृत्तिले पर्वको मौलिकता प्रभावित भएको भन्दै संस्कृतिविद्हरूले चिन्ता व्यक्त गर्दै आएका छन्।
बाढीको पीडाले धादिङमा तीजको रौनक घट्यो
यस वर्ष भने धादिङमा विगतका वर्षहरूमा जस्तो तीजको रौनक देखिएको छैन। भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि जिल्लामा तीजको उत्साह प्रभावित भएको हो।
बाढीका कारण त्रिशूली नदीमा रहेका विभिन्न पुलमा क्षति पुगेपछि धादिङबेँसी–पृथ्वीराजमार्ग सडक सम्पर्कसमेत प्रभावित भएको छ। बाढीबाट प्रभावित क्षेत्रमा बेपत्ता तथा घाइतेहरूको खोज तथा उद्धार कार्य जारी छ भने घरबारविहीन बनेका परिवारलाई अस्थायी शिविरमा राखिएको छ।
विपद्का कारण धेरै परिवार शोक र समस्यामा रहेका बेला तीजमा विगतको जस्तो भव्य कार्यक्रम, जमघट तथा तडकभडक कम देखिएको छ।
त्रिकोण खबरका म्यानेजिङ डाइरेक्टर बद्री पौडेलका अनुसार यसपटक धादिङमा तीजको उत्साहभन्दा बाढी प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाको विषय प्राथमिकतामा परेको छ।
“बाढीका कारण धेरै परिवार दुःख र समस्यामा छन्। यस्तो अवस्थामा विगतमा जस्तो तीजको रौनक स्वाभाविक रूपमा देखिएको छैन,” पौडेलले बताउनुभयो।
यस वर्षको तीजले धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै विपद्मा परेका परिवारप्रति सहानुभूति, सहयोग र मानवीय एकताको भावना अझ बलियो बनाउनुपर्ने सन्देशसमेत दिएको छ।






