बद्री पौडेल , धादिङ ,२०८३ असोज २५ गते
कुनै समय मानिसहरू खोला किनार र पहाडका फेदीमा बस्न डराउँथे। अहिले भने सडक, यातायात, खानेपानी र अन्य सुविधाको खोजीमा मानिसहरू पहाडका डाँडाकाँडा छाडेर खोला किनार र पहाडका घाँचमा बस्ती बसाल्न थालेका छन्। तर, सुविधासँगै प्राकृतिक विपद्को जोखिम पनि बढ्दै गएको तथ्यलाई बेवास्ता गर्न मिल्दैन। यही भाद्र १० गते को त्रिसुली नदी को बाडी र आज गोरखाको बुढीगण्डकीमा आएको भीषण बाडीहरुको अकल्पनिय क्षति पनि उदाहरणर हो ।
खोलाको किनार र पहाडको फेदीबीचको साँघुरो भूभागलाई स्थानीय भाषामा ‘घाँच’ भनिन्छ। यस्ता ठाउँमा विगतमा अत्यधिक गर्मी हुने, लामखुट्टेको प्रकोप रहने र औलो (मलेरिया) जस्ता रोगको जोखिम हुने भएकाले मानिसहरू बसोबास गर्न रुचाउँदैनथे। आजभन्दा ८०–९० वर्षअघिसम्म पानीको दुःख सहेरै भए पनि मानिसहरू तुलनात्मक रूपमा सुरक्षित ठानिएका डाँडाकाँडामा बस्थे।
समय परिवर्तनसँगै मानिसको बसोबास गर्ने शैली पनि बदलियो। औलो नियन्त्रण हुँदै गएपछि, सडक सञ्जाल विस्तार हुन थालेपछि र यातायात तथा अन्य सुविधाको पहुँच बढेपछि खोला किनार र पहाडका फेदीमा बस्ती विस्तार हुन थाल्यो। गाडी गुड्ने सडक प्रायः नदी किनार र खोँच हुँदै निर्माण गरिएकाले पनि मानिसहरू सडक आसपास बसोबास गर्न आकर्षित भए। फलस्वरूप, पहिले सुनसान रहेका कतिपय खोला किनारमा अहिले बाक्लो बस्ती र बजार विकास भएका छन्।
तर, मानिसले बस्ती बसाल्दैमा प्रकृतिको स्वभाव परिवर्तन हुँदैन। नदी र खोलाका आफ्नै प्राकृतिक बहाव क्षेत्र हुन्छन्। बाढी आउँदा पानी फैलिने ठाउँ, नदीले धार परिवर्तन गर्न सक्ने क्षेत्र र पहाडबाट बगेर आउने गेग्रानको बाटोलाई अतिक्रमण गरेर घर, सडक, पुल तथा अन्य संरचना निर्माण गरिएमा जोखिम झन् बढ्न सक्छ। नदीको प्राकृतिक बहावलाई साँघुरो बनाउने र पानी निकासको बाटो अवरुद्ध गर्ने मानवीय गतिविधिले बाढीको असर गम्भीर बनाउन सक्छ।
‘१२ वर्षमा खोला फर्किन्छ’ भन्ने बूढापाकाको भनाइ धेरैले सुनेका छन्। यो भनाइलाई नदी वा खोला निश्चित १२ वर्षमै फर्किन्छ भन्ने वैज्ञानिक नियमका रूपमा लिन मिल्दैन। तर, विगतमा बगेको खोला, पुरानो बाढीको बाटो र प्राकृतिक बहाव क्षेत्रलाई बिर्सन नहुने चेतावनीका रूपमा यसलाई बुझ्न सकिन्छ। वर्षौंसम्म शान्त देखिएको खोला पनि असाधारण वर्षा, पहिरो वा ठूलो बाढीका बेला पुरानै बहाव क्षेत्रमा फैलिन सक्छ।
नेपालमा पछिल्ला वर्षहरूमा सडक विस्तार, सहरीकरण र सुविधाको खोजीसँगै पहाडका डाँडाकाँडा तथा पुराना बस्तीबाट मानिसहरू तल झरेर नदी किनार, खोँच र पहाडका फेदीमा बसोबास गर्ने क्रम बढेको छ। यस्ता ठाउँमा बस्ती विस्तार गर्दा भूगोल, माटोको अवस्था, बाढीको इतिहास, पहिरोको सम्भावना र नदीको प्राकृतिक बहाव क्षेत्रबारे पर्याप्त अध्ययन गर्नु आवश्यक छ।
विकासको नाममा जोखिमपूर्ण स्थानमा जथाभावी बस्ती बसाल्नु र प्राकृतिक बहाव क्षेत्र अतिक्रमण गर्नु भविष्यमा ठूलो जनधनको क्षतिको कारण बन्न सक्छ। त्यसैले स्थानीय तह, सम्बन्धित सरकारी निकाय, प्राविधिक जनशक्ति र समुदायले मिलेर जोखिमयुक्त क्षेत्रको पहिचान गर्नुपर्छ। नदी किनारमा बस्ती विस्तार गर्नुअघि बाढीको जोखिम मूल्याङ्कन गर्ने, आवश्यक दूरी कायम गर्ने, पानी निकासको व्यवस्था मिलाउने र जोखिमयुक्त क्षेत्रमा निर्माण कार्य नियन्त्रण गर्ने नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ।
मानिसलाई सडक, यातायात, बजार र अन्य सुविधा चाहिन्छन्। तर, ती सुविधा प्राप्त गर्ने नाममा आफ्नो जीवन र सम्पत्तिलाई जोखिममा पार्नु बुद्धिमानी हुँदैन। प्रकृतिको स्वभाव बुझेर, विगतका अनुभवबाट सिकेर र वैज्ञानिक अध्ययनका आधारमा बस्ती विकास गर्न सके मात्रै दिगो विकास सम्भव हुन्छ।
खोला किनारमा बस्ती बसाउनु आफैँमा गलत होइन, तर खोलाको प्राकृतिक बहाव र विपद्को जोखिम नबुझी बस्ती विस्तार गर्नु गम्भीर भूल हुन सक्छ। प्रकृतिसँग प्रतिस्पर्धा गरेर होइन, प्रकृतिको स्वभाव बुझेर विकास गर्नु आजको आवश्यकता हो।






