बद्री पौडेल ,पोखरा ,२०८३ कार्तिक १४ गते
लायन्स अन्तर्राष्ट्रिय डिस्टृक्ट ३२५ आई नेपालको दोस्रो क्याबिनेट बैठक सम्पन्न हुने अवसरमा आज (कार्तिक १४ गते) पर्यटकीय नगरी पोखरामा नवस्थापित ‘लायन्स क्लब धादिङ समाज’ को औपचारिक चार्टर तथा उद्घाटन गरिएको छ।
कार्तिक १३ गतेदेखि सुरु भएको डिस्टृक्ट ३२५ आई नेपालको दोस्रो क्याबिनेट बैठक पोखरामा दुई दिनसम्म सञ्चालन भई आज सम्पन्न भएको हो। लायन्स क्लब अफ लेखनाथले Host गरीएको , पोखराको लेखनाथस्थित रवि महलमा आयोजित उक्त बैठकको समापनको अवसर पारेर धादिङसँग सम्बन्धित लायन्स सदस्यहरूको साझा संस्था ‘लायन्स क्लब धादिङ समाज’ लाई औपचारिक रूपमा चार्टर गरिएको हो।
लायन्स अन्तर्राष्ट्रियका अन्तर्राष्ट्रिय डाइरेक्टर लायन राजन लम्साल, डिस्टृक्ट गभर्नर लायन सूर्यकुमार केसी, डिस्टृक्ट फर्स्ट भाइस गभर्नर लायन शैलेन्द्रमोहन भट्टराई तथा डिस्टृक्ट सेकेन्ड भाइस गभर्नर लायन विष्णु भण्डारीको गरिमामय उपस्थितिमा क्लबको उद्घाटन सम्पन्न भएको हो।
सन् २०२६ अक्टोबर १४ मा स्थापना भएको क्लबको चार्टर्ड प्रेसिडेन्टमा लायन डा. दिनेश रेग्मी रहेका छन्। उद्घाटन समारोहमा क्लबका कोषाध्यक्ष लायन डा. प्रियजन पाण्डे तथा सहसचिव लायन डा. अनिल गुरुङलगायतको उपस्थिति रहेको थियो।
क्लबको स्थापना तथा विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्पोन्सर क्लब लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीका अध्यक्ष लायन राजाराम रिजाल, लायन्स क्लब अफ धादिङ मण्डलीका अध्यक्ष हरिकुमार श्रेष्ठ, सचिव लायन प्रदीप ढकाल, सर्भिस चेयरपर्सन लायन राम श्रेष्ठलगायत विभिन्न क्लबका पदाधिकारी तथा लायन्स सदस्यहरूको सहभागिता रहेको थियो।
क्लबका चार्टर्ड प्रेसिडेन्ट लायन डा. दिनेश रेग्मीले लायन्स अन्तर्राष्ट्रियको मूल नारा ‘We Serve’ अर्थात् ‘हामी सेवा गर्छौँ’ लाई आत्मसात् गर्दै शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक सचेतना तथा मानवीय सहयोगका क्षेत्रमा सेवामूलक कार्यक्रम सञ्चालन गरिने बताए। समुदायको आवश्यकता र समस्यालाई प्राथमिकतामा राखेर सामाजिक रूपान्तरणका गतिविधि अघि बढाउने उनको भनाइ थियो।
धादिङसँग सम्बन्धित लायन्स सदस्यहरूलाई एउटै संस्थागत संरचनामा आबद्ध गर्दै सामाजिक तथा मानवीय सेवामा सक्रिय बनाउने उद्देश्यले स्थापना गरिएको यस क्लबको चार्टरसँगै धादिङको लायन्स अभियानले थप संस्थागत विस्तार र नयाँ पहिचान प्राप्त गरेको छ।






