धादिङ । त्रिभुवन राजपथ अन्तरगत धादिङको धुनीबेशी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।
फरक फरक ३ सवारी साधनवाट ३५ शव निकालिएकाे जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रल्लाद सिल्वालले जानकारी दिनुभयाे । सिल्वालका अनुसार शनिवार साँझ झ्याप्ले खाेलामा पहिराेले गाडि पुरिएकाे देखिएपछि उत्खनन् सुरू गरीएकाे र साे क्रम्ममा ३५ शव निकालिएकाे जानकारी दिनुभयाे ।
पहिराेमा अहिले सम्म शनिबार राति १४ वटा शव सुरक्षाकर्मीले निकालेका थिए । जसमध्ये ८ पुरुष र ६ महिला थिए ।
लु १ ख ४५७८ नम्बरको विंगरबाट शनिबार १४ वटा शव निकालिएको थियो । उक्त विङगर गाडी बुटवलबाट काठमाडौंका लागि छुटेको थियो ।
नारायणघाटबाट काठमाडौं आउँदै गरेको ना२ख १३४५ नम्बरको माइक्रो बसबाट १६ वटा शव निकालिएको उनले बताए । ती मध्ये १२ जना पुरुष र ४ जना महिला छन् ।
त्यसैगरी गोरखाबाट काठमाडौं आउँदै गरेको ना४ख २२७० नम्बरको बसबाट ५ जना शव निकालिएको छ । मृतक चारै जना पुरुष रहेको सुचना अधिकारी प्रल्लाद सिल्वालले बताए । जम्मा ३५ वटा शव निकालिएकोमा २५ पुरुष र १० महिला छन् ।
पानी पर्नेक्रम कम भएसंगै बाटाे खुलाउने प्रयास भईरहेकाेले आज साँझसम्ममा सवारी आवागमन खुल्ने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ ।






