काठमाडौं ,२०८३ असोज ४ गते
अमेरिकी सञ्चारमाध्यम ‘द ग्रे जोन’ले नेपालमा भएको जेन–जी आन्दोलनबारे प्रकाशित गरेको सामग्री सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको आरोपमा राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन्।
राजनीतिक विमर्शसम्बन्धी कार्यक्रममा सहभागी हुन असोज २ गते मोरङ पुगेका दाहाललाई आइतबार मोरङको सुन्दरहरैचा–८, सलकपुरस्थित गौरी ढकालको चिया पसलबाट प्रहरीले नियन्त्रणमा लिएको हो। मोरङ प्रहरीले उनलाई विराटनगरबाट काठमाडौं पठाउने तयारी गरेको जनाएको छ।
प्रहरी स्रोतका अनुसार दाहाललाई पक्राउ गर्न पछिल्लो एक सातादेखि प्रधानमन्त्रीको सचिवालयबाट दबाब आएको थियो। शक्तिकेन्द्रबाट निरन्तर दबाब आएपछि नेपाल प्रहरीको साइबर ब्यूरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको स्रोतको दाबी छ। अदालतबाट शुक्रबार नै पक्राउ अनुमति प्राप्त भएको बताइएको छ।
दाहालले सेप्टेम्बर १२ अर्थात् भदौ २७ गते ‘अमेरिकी पत्रिकामा अर्को विस्फोट’ शीर्षक राख्दै ‘द ग्रे जोन’को नेपालसम्बन्धी रिपोर्ट सामाजिक सञ्जालमा शेयर गरेका थिए। उक्त रिपोर्टमा नेपालका केही नयाँ राजनीतिक नेतृत्व, अभियन्ता तथा सार्वजनिक व्यक्तित्वहरू अमेरिकी सहयोगमा सञ्चालित विभिन्न संस्था तथा परियोजनासँग जोडिएको दाबी गरिएको थियो।
‘द ग्रे जोन’ले सार्वजनिक गरेका केही विवरण तथा कागजातमा नेपालका केही चर्चित राजनीतिक व्यक्ति र आन्दोलनका अगुवाको नाम नागरिक नेतृत्व तथा क्षमता विकाससँग सम्बन्धित कार्यक्रमहरूसँग जोडिएको उल्लेख गरिएको थियो।
दाहालले उक्त सामग्री शेयर गर्नुअघि पनि सरकार तथा समसामयिक राजनीतिक विषयमा सामाजिक सञ्जालमार्फत निरन्तर टिप्पणी गर्दै आएका थिए।
यता, साइबर ब्यूरोका प्रवक्ता एसपी दिलीपकुमार गिरीले भने दाहाल सामाजिक सञ्जालमा भ्रम एवं अतिरञ्जनापूर्ण सामग्री प्रस्तुत गरेको आरोपमा पक्राउ परेको बताएका छन्।
दाहाललाई काठमाडौं ल्याएपछि अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।






