धादिङ ,२०८३ असोज ४ गते

धादिङको मलेखु–कालुपाण्डे मार्गअन्तर्गत कमेरेमा सडक भासिएको तीन वर्ष पूरा भएर चौथो वर्ष लागिसक्दा पनि सडकको समस्या समाधान हुन सकेको छैन। सडक मर्मतका क्रममा बीच भागमा काम गरिए पनि छेउतर्फको भासिएको भाग भने टेन्डरमार्फत मर्मत गर्ने भन्दै अलपत्र छाडिएको स्थानीयको गुनासो छ।

भासिएको तथा कमजोर सडकका कारण सवारीसाधन सञ्चालनमा जोखिम बढेको छ। ट्राफिक  प्रहरी कार्यालय धादिङका अनुसार गत साता मात्रै सोही क्षेत्रमा तीन वटा दुर्घटना भएका छन्। सडकको छेउ भाग अझै व्यवस्थित नहुँदा दुर्घटनाको जोखिम कायमै रहेको स्थानीय बताउँछन्।

यस्तै, धादिङबेँसीको पुच्छार बजार चोकमा खानेपानीको पाइप गाड्न सडक खनेको पनि करिब एक वर्ष भइसकेको छ। सामान्य प्रकृतिको काम भए पनि सडक पूर्ववत् बनाउन ढिलाइ हुँदा स्थानीय र सवारी चालकले समस्या भोगिरहेका छन्।

यस्ता साना तर जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका समस्या समाधान गर्न वडाको भूमिका प्रभावकारी हुन नसकेको स्थानीयको गुनासो छ। वडाले कर उठाउन सक्छ, तर उठाएको कर स्थानीय आवश्यकता हेरेर तत्काल खर्च गर्ने अधिकार भने छैन।

साबिक गाविस हुँदा गाविसकै खाताबाट स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा सामान्य सडक, नाला, खानेपानीलगायतका काम तत्काल गर्न सकिने अवस्था थियो। अहिले त्यही भूगोल एउटा वडा बनेको छ। तर वडासँग आफ्नै क्षेत्रमा देखिएका सामान्य समस्या समाधान गर्न आवश्यक बजेट र खर्च गर्ने अधिकार नहुँदा सानो कामका लागि पनि नगरपालिका वा गाउँपालिकाकै निर्णय र प्रक्रियामा निर्भर हुनुपर्ने अवस्था छ।

स्थानीय सरकारको सबैभन्दा नजिकको इकाइ वडा भए पनि समस्या देख्ने अधिकार वडासँग छ, कर उठाउने अधिकार पनि छ, तर तत्काल समाधानका लागि खर्च गर्ने अधिकार छैन। यही कारण सडकमा देखिएको सामान्य समस्या पनि वर्षौँसम्म थन्किने अवस्था बनेको स्थानीयको भनाइ छ।

कमेरेको भासिएको सडकले वर्षौँदेखि दुर्घटनाको जोखिम बोकेको छ भने पुच्छार बजारमा पाइप गाड्न खनिएको सडक पनि लामो समयदेखि पूर्ववत् हुन सकेको छैन। यस्ता समस्या समाधानका लागि बजेटभन्दा पनि स्थानीय तहको अधिकार र जिम्मेवारीलाई व्यवहारमै प्रभावकारी बनाउने व्यवस्था आवश्यक रहेको स्थानीयको भनाइ छ।

सडकमा जोखिम बढ्दै जाँदा दुर्घटना भइरहेका बेला सम्बन्धित निकायले टेन्डर र प्रक्रियाको नाममा वर्षौँसम्म सडक अलपत्र छाड्ने कि तत्काल मर्मत गरेर सुरक्षित बनाउने भन्ने प्रश्न उठेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0