आइतवार, ६ मंसिर २०८३

अटिजम : बुझाइ, पहिचान र उचित सहयोगले सहज बन्न सक्छ जीवन

३८ पटक पढिएको
१ सेयर
WhatsApp Viber X
५ मिनेट पढाइ
अक्षर:

अटिजम (Autism) स्नायु प्रणालीको विकाससँग सम्बन्धित अवस्था हो। यो मस्तिष्कको विकास र कार्यशैलीसँग सम्बन्धित जीवनभर रहने न्युरो डेभलपमेन्टल अवस्था हो। यसले विशेषगरी व्यक्तिको सामाजिक अन्तरक्रिया, सञ्चार क्षमता, व्यवहार, रुचि तथा दैनिक क्रियाकलापमा प्रभाव पार्न सक्छ। अटिजम कुनै मानसिक रोग होइन र यो सुस्त मनस्थिति पनि होइन।

अटिजमका लक्षण र त्यसले पार्ने प्रभाव व्यक्तिपिच्छे फरक हुने भएकाले यसलाई अटिजम स्पेक्ट्रम डिसअर्डर (Autism Spectrum Disorder–ASD) भनिन्छ। कसैमा सामान्य सामाजिक तथा सञ्चारसम्बन्धी कठिनाइ देखिन सक्छ भने कसैलाई दैनिक जीवनयापनका लागि निरन्तर अरूको सहयोग आवश्यक पर्न सक्छ। यसको पहिचान प्रायः बाल्यावस्थामै, विशेषगरी तीन वर्षको उमेरभित्र देखिन थाल्ने संकेतका आधारमा गर्न सकिन्छ।

अटिजमसँग सम्बन्धित अवस्थाका रूपमा पहिले एस्पर्गर सिन्ड्रोम, रेट्ट सिन्ड्रोम, चाइल्डहुड डिसइन्टिग्रेटिभ डिसअर्डर तथा पर्भेसिभ डेभलपमेन्टल डिसअर्डर जस्ता छुट्टाछुट्टै नाम प्रयोग गरिन्थ्यो। अहिले यस्ता धेरै अवस्थालाई अटिजम स्पेक्ट्रम डिसअर्डरको व्यापक वर्गभित्र समेटिएको छ।

अटिजम भएका व्यक्तिमा सञ्चार र सामाजिक व्यवहारसम्बन्धी कठिनाइसँगै अन्य स्वास्थ्य तथा विकाससम्बन्धी अवस्था पनि देखिन सक्छन्। कसैमा डाउन सिन्ड्रोम, बौद्धिक विकाससम्बन्धी कठिनाइ, छारे रोग तथा अन्य स्नायु प्रणालीसम्बन्धी समस्या पनि हुन सक्छन्।

अटिजमका सम्भावित कारण (Causes of Autism)

अटिजम हुनुको एउटै निश्चित कारण अहिलेसम्म पत्ता लागेको छैन। विभिन्न अनुसन्धानले वंशानुगत तथा जैविक कारणको महत्त्वपूर्ण भूमिका रहेको देखाएका छन्। गर्भावस्था र जन्मसँग सम्बन्धित केही अवस्थाले पनि जोखिम बढाउन सक्ने अध्ययनहरू छन्।

अटिजमसँग सम्बन्धित सम्भावित जोखिम कारकहरूमा निम्न विषय पर्छन् :

१. वंशानुगत कारण : परिवारमा अटिजम वा अन्य न्युरो डेभलपमेन्टल अवस्था भएको इतिहास हुनु।

२. आमाबाबुको बढ्दो उमेर : गर्भधारणका बेला आमाबाबुको उमेर बढी हुनु।

३. गर्भावस्थाका जटिलता : गर्भावस्थामा देखिने केही स्वास्थ्य समस्या तथा अन्य जटिलता।

४. गर्भावस्थामा आमाको स्वास्थ्य अवस्था : मधुमेहलगायत केही स्वास्थ्य समस्या तथा निश्चित जैविक जोखिम।

५. समयभन्दा अगाडि जन्मनु वा कम तौलमा जन्मनु : समयअगावै जन्मिएका तथा कम तौल भएका शिशुमा विकाससम्बन्धी केही जोखिम बढी हुन सक्छ।

६. जन्मसम्बन्धी जटिलता : जन्मका क्रममा देखिने गम्भीर स्वास्थ्य समस्या तथा केही स्नायु प्रणालीसम्बन्धी जोखिम।

यद्यपि यी सबै अवस्था अटिजमका प्रत्यक्ष कारण हुन् भन्ने प्रमाण छैन। गर्भावस्थामा आमालाई मानसिक तनाव हुनु, कुपोषण वा धूम्रपान गर्नु नै अटिजमको निश्चित कारण हो भन्न मिल्दैन। अटिजमलाई आमाबाबुको गल्ती वा बालबालिकाको हुर्काइसँग जोडेर हेर्नु हुँदैन।

अटिजमका प्रारम्भिक संकेत (Early Signs of Autism)

अटिजमका संकेत सबै बालबालिकामा एकै प्रकारका हुँदैनन्। बालबालिकाको उमेरअनुसार विकास हुने क्रममा निम्न संकेत देखिएमा अटिजमको सम्भावनाबारे सचेत हुनुपर्छ।

१. उमेरअनुसार बोल्न ढिलो हुनु वा बोल्दै नबोल्नु।

२. अरूले बोलाउँदा प्रतिक्रिया नदिनु वा नसुनेजस्तो गर्नु।

३. आँखामा आँखा जुधाएर सम्पर्क गर्न कठिनाइ हुनु।

४. उमेरअनुसार सामाजिक सीप तथा सञ्चार क्षमताको विकास नहुनु।

५. एउटै प्रकारको हाउभाउ, आवाज वा शारीरिक गतिविधि पटकपटक दोहोर्‍याउनु।

६. अरूसँग खेल्न तथा घुलमिल हुन कम रुचि देखाउनु।

७. दैनिक क्रियाकलापमा परिवर्तन हुँदा असहज महसुस गर्नु।

यी संकेत देखिँदैमा अटिजम नै भएको भन्ने हुँदैन। तर यस्ता व्यवहार निरन्तर देखिएमा बालरोग विशेषज्ञ वा विकाससम्बन्धी विशेषज्ञबाट मूल्याङ्कन गराउनु आवश्यक हुन्छ।

अटिजमका प्रमुख लक्षण (Symptoms of Autism)

अटिजम भएका बालबालिकामा देखिन सक्ने प्रमुख लक्षण तथा व्यवहारहरू यस प्रकार छन् :

  • एक्लै बस्न वा खेल्न बढी रुचाउनु।
  • अरू बालबालिकासँग घुलमिल हुन तथा सामूहिक खेलमा सहभागी हुन कठिनाइ हुनु।
  • आँखामा आँखा जुधाएर कुरा नगर्नु।
  • बोलाउँदा प्रतिक्रिया नदिनु वा कहिलेकाहीँ नसुनेजस्तो गर्नु।
  • एउटै शब्द, वाक्य वा आवाज बारम्बार दोहोर्‍याउनु।
  • कुनै एउटा वस्तु वा विषयप्रति अत्यधिक लगाव राख्नु।
  • खेलौना वा वस्तुलाई असामान्य तरिकाले घुमाइरहनु।
  • हरेक दिन एउटै काम र एउटै तरिका अपनाउन खोज्नु तथा परिवर्तन मन नपराउनु।
  • काल्पनिक तथा नाटकीय खेलमा कम रुचि देखाउनु।
  • असान्दर्भिक समयमा हाँस्नु वा रुनु।
  • हात हल्लाउने, शरीर मच्चाउने, हल्लिने वा उफ्रिने जस्ता गतिविधि दोहोर्‍याउनु।
  • आफ्ना आवश्यकता पूरा गराउन वयस्कको हात समातेर वस्तुतर्फ लैजानु।
  • कुनै विषय वा काममा अत्यधिक रुचि देखाउनु तर सामाजिक गतिविधिमा कम सहभागी हुनु।
  • खतरा तथा जोखिमको पहिचान गर्न कठिनाइ हुनु।
  • अत्यधिक चञ्चल हुनु वा असामान्य रूपमा निष्क्रिय देखिनु।
  • सामान्य शिक्षण विधिबाट सिक्न कठिनाइ हुनु।
  • बिना स्पष्ट कारण चिन्तित हुनु, रुने वा कराउने गर्नु।
  • अरूलाई मनपर्ने उमेरअनुकूल गतिविधिमा रुचि नदेखाउनु।

यी सबै लक्षण एउटै बालबालिकामा देखिनुपर्छ भन्ने छैन। कुनै बालबालिकामा केही लक्षण मात्र देखिन सक्छन् भने कसैमा धेरै लक्षण देखिन सक्छन्। त्यसैले लक्षणका आधारमा आफैँ निष्कर्ष निकाल्नुभन्दा विशेषज्ञबाट परीक्षण गराउनु उचित हुन्छ।

अटिजम भएका बालबालिकाको जीवनयापन (Life of Children with Autism)

अटिजम भएका बालबालिकाको जीवनयापन उनीहरूमा देखिएको अवस्थाको प्रकृति, व्यक्तिगत क्षमता र आवश्यक सहयोगमा निर्भर हुन्छ। अटिजमको गम्भीरता तथा सहयोगको आवश्यकतालाई बुझ्न एउटै सरल आधिकारिक मापन विधि हुँदैन। प्रत्येक बालबालिकाको क्षमता, सिकाइको गति, सञ्चार शैली र व्यवहार फरक हुन्छ।

समयमै पहिचान गरी उपयुक्त तथा निरन्तर सहयोग उपलब्ध गराउन सकेमा अटिजम भएका बालबालिकाले सञ्चार, सामाजिक अन्तरक्रिया, आत्मनिर्भरता र दैनिक जीवनयापनका विभिन्न सीप विकास गर्न सक्छन्।

उनीहरूलाई आवश्यकताअनुसार बोली तथा भाषा उपचार, व्यवहार तथा विकाससम्बन्धी सहयोग, विशेष शिक्षा, व्यावसायिक उपचार र परिवारको साथ आवश्यक पर्न सक्छ। विद्यालय, परिवार र समुदायले उनीहरूको अवस्था बुझेर अनुकूल वातावरण निर्माण गर्न सकेमा जीवन सहज बनाउन महत्त्वपूर्ण योगदान पुग्छ।

अटिजम भएका सबै बालबालिका एउटै क्षमता र अवस्थाका हुँदैनन्। कसैले अध्ययन, कला, गणित, प्रविधि वा अन्य क्षेत्रमा विशेष क्षमता देखाउन सक्छन् भने कसैलाई सामान्य दैनिक कामका लागि पनि सहयोग आवश्यक पर्न सक्छ। उनीहरूको क्षमता पहिचान गरी त्यसअनुसार अवसर र सहयोग प्रदान गर्नु आवश्यक छ।

समयमै पहिचान र सहयोग किन आवश्यक छ ?

अटिजम निको पार्ने एउटै औषधि वा उपचार छैन। तर समयमै पहिचान, उचित शिक्षा, आवश्यक उपचार तथा परिवारको निरन्तर सहयोगले अटिजम भएका व्यक्तिको सञ्चार क्षमता, सामाजिक सीप र आत्मनिर्भरता बढाउन सकिन्छ।

अटिजम कुनै अभिशाप होइन, न त यसलाई लुकाउनुपर्ने अवस्था हो। अटिजम भएका बालबालिकालाई दया होइन, सम्मान, अवसर, स्वीकार्यता र आवश्यक सहयोग चाहिन्छ। परिवार, विद्यालय, स्वास्थ्यकर्मी, स्थानीय सरकार र समाज सबैले उनीहरूको अधिकार तथा क्षमताको सम्मान गर्दै समावेशी वातावरण निर्माण गर्न सकेमा उनीहरू पनि आत्मसम्मानका साथ सहज र अर्थपूर्ण जीवनयापन गर्न सक्षम बन्न सक्छन्। Reference  By ,Mental Health Trining Book

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो समाचार सेयर गर्नुहोस्: WhatsApp Viber X
प्रकाशक त्रिकोण खबर

त्रिकोण संवाददाता

तपाईंको प्रतिक्रिया

Facebook मार्फत प्रतिक्रिया दिनुहोस्। अशिष्ट वा घृणा फैलाउने प्रतिक्रिया हटाइनेछ।