बिश्वास सिलवाल ,धादिङ बेसी
नीलकण्ठ बहुमुखी क्याम्पसको २७औँ स्थापना दिवसको अवसरमा विभिन्न सामाजिक तथा जनस्वास्थ्यसम्बन्धी कार्यक्रम आयोजना हुने भएका छन्।
स्थापना दिवसलाई सामाजिक उत्तरदायित्व र मानवीय सेवासँग जोड्दै क्याम्पसले खुला रक्तदान कार्यक्रम तथा निःशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरण कार्यक्रम सञ्चालन गर्न लागेको हो।
नेपाल रेडक्रस सोसाइटी युवा रेडक्रस सर्कल, नीलकण्ठ बहुमुखी क्याम्पसको आयोजनामा आगामी मंसिर ६ गते आईतवार बिहान ७:३० बजेदेखि क्याम्पस प्राङ्गण, नीलकण्ठ नगरपालिका–३, धादिङमा खुला रक्तदान कार्यक्रम सञ्चालन हुनेछ। कार्यक्रमको प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाले गर्नेछ।
त्यसैगरी, मंसिर ४ गते शुक्रबार बिहान ७ बजेदेखि १० बजेसम्म नीलकण्ठ नगरपालिका–२, ओलीडाँडामा निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रम आयोजना हुनेछ।
क्याम्पसको गणित, स्वास्थ्य तथा साधारण शिक्षा विभागको आयोजनामा हुने कार्यक्रममा विशेषज्ञ चिकित्सक डा. दिनेश रेग्मी (MDGP) र डा. अनिल गुरुङ (BDS) ले स्वास्थ्य परीक्षण सेवा प्रदान गर्नेछन्। कार्यक्रमको सहआयोजनामा नीलकण्ठ नगरपालिका वडा नम्बर २ को कार्यालय रहेको छ भने प्राविधिक सहयोग धादिङ अस्पतालले गर्नेछ।
कार्यक्रमअन्तर्गत मधुमेह परीक्षण गराउन चाहने व्यक्तिहरूलाई बिहान खाली पेटमा उपस्थित हुन आयोजकले अनुरोध गरेको छ।
क्याम्पसको स्थापना दिवसको अवसरमा आयोजना हुन लागेका यी कार्यक्रमबाट स्थानीय नागरिकले स्वास्थ्य सेवा प्राप्त गर्नुका साथै रक्तदानमार्फत मानवीय सेवामा योगदान पुर्याउने अवसर पाउनेछन्। दुवै कार्यक्रममा सहभागी भई लाभ लिन आयोजकले विद्यार्थी, शिक्षक, अभिभावक तथा सम्पूर्ण स्थानीयवासीमा आग्रह गरेको छ।









तपाईंको प्रतिक्रिया
Facebook मार्फत प्रतिक्रिया दिनुहोस्। अशिष्ट वा घृणा फैलाउने प्रतिक्रिया हटाइनेछ।