आइतवार, ६ मंसिर २०८३

धादिङमा बाढीपीडित ४२ जनालाई सिरक वितरण, प्रभावित बालबालिकालाई न्यानो कपडा

१४ पटक पढिएको
WhatsApp Viber X
२ मिनेट पढाइ
अक्षर:

धादिङ । भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित तथा परिवारका सदस्य गुमाएका नागरिकलाई चिसोबाट जोगाउन धादिङमा फाइबर सिरक र ज्याकेट वितरण गरिएको छ ।

बाढी प्रभावित परिवारलाई लक्षित गरी नीलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिका र ज्वालामुखी गाउँपालिकाका ४२ जनालाई फाइबर सिरक वितरण गरिएको हो । सिरक पाउनेमा नीलकण्ठ नगरपालिकाका ३५ जना, सिद्धलेक गाउँपालिकाका ५ जना र ज्वालामुखी गाउँपालिकाका २ जना रहेका छन् ।

यसैगरी, नीलकण्ठ नगरपालिका–२, तीनघरेस्थित अन्नपूर्ण आधारभूत विद्यालयमा अध्ययनरत बाढी प्रभावित तथा आर्थिक समस्यामा रहेका बालबालिकालाई समेत सिरक र ज्याकेट वितरण गरिएको छ ।

सहयोग पाउने बालबालिकामध्ये कक्षा ५ मा अध्ययनरत रविन सुनारले आमा गुमाएका छन् । सोही कक्षामा अध्ययनरत दिपशिखा श्रीमल आमाको साथबाट वञ्चित भई मावली घरमा हजुरआमाको संरक्षणमा रहेकी छन् । यस्तै, कक्षा २ मा अध्ययनरत अनुस्का सुनारका बुबा बाढीमा बेपत्ता भएका छन् ।

पारिवारिक अभिभावक गुमाएका तथा समस्यामा रहेका यी बालबालिकालाई खाद्यान्न र शैक्षिक सामग्रीको समेत अभाव रहेको जनाइएको छ । यस्तो अवस्थामा प्राप्त न्यानो कपडा र सिरकले उनीहरूलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ ।

नेपाल पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष तथा इन्सेकका धादिङ प्रतिनिधि सीताराम अधिकारीको समन्वयमा राहत सामग्री वितरण गरिएको हो । उक्त सहयोग काठमाडौंको बानेश्वर निवासी ८२ वर्षीय भरतप्रसाद शर्मा, विष्णु तिमल्सिना, भगवान न्यौपाने र अश्वि (यमुना) शर्माले उपलब्ध गराएका हुन् ।

सिरक तथा न्यानो कपडा वितरण कार्यक्रममा धादिङ उद्योग वाणिज्य संघका प्रमुख कार्यकारी अधिकृत रमेश अधिकारी, नेपाल पत्रकार महासंघ धादिङ शाखाका सचिव सन्तोष श्रेष्ठ, पैरवी अनलाइन डटकमका पत्रकार श्यामबहादुर मगराती, त्रिकोण खबरका पत्रकार ईश्वर थापा मगर र नीलकण्ठ रेडियोका पत्रकार आकाश लम्साललगायतको सहभागिता रहेको थियो ।

बाढीका कारण पारिवारिक क्षति व्यहोरेका तथा आर्थिक अभाव झेलिरहेका नागरिकलाई लक्षित गरी गरिएको यस सहयोगले जाडोयाममा उनीहरूलाई राहत मिल्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो समाचार सेयर गर्नुहोस्: WhatsApp Viber X
प्रकाशक ईश्वर थापा मगर

सम्पादक

तपाईंको प्रतिक्रिया

Facebook मार्फत प्रतिक्रिया दिनुहोस्। अशिष्ट वा घृणा फैलाउने प्रतिक्रिया हटाइनेछ।