आइतवार, ६ मंसिर २०८३

धादिङबेसीमा अरुण खोलाको किनारमा छठ पर्वको रौनक, अस्ताउँदो सूर्यलाई अर्घ दिएर पूजा सुर

३१ पटक पढिएको
१ सेयर
WhatsApp Viber X
२ मिनेट पढाइ
अक्षर:

बद्री पौडेल ,धादिङबेसी, २९ कात्तिक ,२०८३

तराई क्षेत्रमा विशेष महत्त्वका साथ मनाइँदै आएको छठ पर्व पछिल्लो समय पहाडी जिल्लाहरूमा समेत लोकप्रिय बन्दै गएको छ। यसैक्रममा धादिङबेसीको बीचबजारस्थित सुगम टोलमा अरुण खोलाको किनारमा छठ पर्व श्रद्धा र भक्तिभावका साथ मनाउन सुरु गरिएको छ।

कुनै समय तराई क्षेत्रमा मात्र सीमित छठ पर्व पछिल्लो समय देशका पहाडी तथा हिमाली जिल्लाहरूमा समेत विस्तार भएको छ। पहाडमा काठमाडौंको रानीपोखरीबाट सुरु भएको सार्वजनिक छठ उत्सवको प्रभावसँगै विगत १०–१२ वर्षयता पहाडी जिल्लाहरूमा पनि यसको आकर्षण बढ्दै गएको हो।

धादिङबेसीमा बसोबास गर्ने तराई मूलका समुदायको अगुवाइमा अरुण खोलाको किनारमा आकर्षक पूजामण्डप निर्माण गरी छठ पर्व मनाइएको छ। पूजास्थललाई रंगीन बत्ती, फूलमाला र विभिन्न सजावटले सिँगारिएको छ। फलफूल, नरिवल, केरा तथा अन्य पूजासामग्रीसहित व्रतालुहरू साँझ अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्दै पूजाआराधनामा जुटेका छन्।

छठ पूजामा तराई मूलका समुदायको उल्लेख्य सहभागिता रहे पनि धादिङबेसीका अन्य समुदायका स्थानीयवासीसमेत उत्साहपूर्वक सहभागी भएका छन्। पूजास्थलमा फलफूल चढाउने, भेटी अर्पण गर्ने र दर्शन गर्नेहरूको बाक्लो उपस्थिति छ। विभिन्न समुदायका मानिसहरूको सहभागिताले छठ पर्व धार्मिक आस्थासँगै सामाजिक सद्भाव र सांस्कृतिक एकताको साझा उत्सव बन्दै गएको देखिन्छ।

छठ पर्वमा सूर्यदेव र छठी माताको पूजा आराधना गरिन्छ। व्रतालुहरूले शुद्धता, संयम र निष्ठाका साथ अस्ताउँदो तथा उदाउँदो सूर्यलाई अर्घ दिने परम्परा छ। आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर सुरु भएको पूजा रातभर जाग्राम बसेर निरन्तरता दिइनेछ। भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि फलफूल तथा परम्परागत प्रसाद वितरण र ग्रहण गरी छठ पर्वको विधिवत् समापन गरिने छठ पूजा व्यवस्थापन समितिका सदस्यहरूले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो समाचार सेयर गर्नुहोस्: WhatsApp Viber X
प्रकाशक त्रिकोण खबर

त्रिकोण संवाददाता

तपाईंको प्रतिक्रिया

Facebook मार्फत प्रतिक्रिया दिनुहोस्। अशिष्ट वा घृणा फैलाउने प्रतिक्रिया हटाइनेछ।