आइतवार, ६ मंसिर २०८३

नीलकण्ठ वडास्तरीय फुटबलको उपाधि मधुवन ‘ए’ लाई, लगातार तेस्रो वर्ष च्याम्पियन

१३१ पटक पढिएको
६ सेयर
WhatsApp Viber X
२ मिनेट पढाइ
अक्षर:

​चित्र गुरुङ
धादिङ (नीलकण्ठ) — धादिङको नीलकण्ठ नगरपालिका–१३ स्थित नेपाल 🇳🇵–ताइवान🇦🇲 मैत्रीपूर्ण खेलमैदानमा सम्पन्न वडास्तरीय शुभ दीपावली मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि मधुवन युवा क्लब ‘ए’ ले जितेको छ।

​फेलेले युवा समाजको आयोजनामा भएको प्रतिस्पर्धात्मक फाइनल भिडन्तमा मधुवन ‘ए’ ले आफ्नै भ्रातृ टोली मधुवन युवा क्लब ‘बी’ लाई २–० गोलअन्तरले पराजित गर्दै उपाधि माथि कब्जा जमाएको हो। यस जितसँगै मधुवन युवा क्लब लगातार तेस्रो वर्ष वडास्तरीय फुटबल प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको छ।

​प्रतियोगिताको विजेता टोली मधुवन ‘ए’ ले नगद २५ हजार रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता मधुवन ‘बी’ ले नगद ११ हजार रुपैयाँ, ट्रफी र मेडलमा चित्त बुझाएको छ। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई आयोजकको नामाङ्कित जर्सीसहित ‘म्यान अफ द म्याच’ प्रदान गरिएको थियो।

​कात्तिक २१ गते सुरु भई कात्तिक २३ गते सम्पन्न प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि एवं प्रमुख सहयोगी दाता होमबहादुर गुरुङ र आयोजक क्लबका अध्यक्ष दिलबहादुर गुरुङले विजेता तथा उपविजेता टोलीलाई पुरस्कार वितरण गर्नुभएको थियो। उद्घाटन समारोह नीलकण्ठ नगरपालिका–१३ का वडाध्यक्ष सोमबहादुर गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

​उपाधि यात्रा

कुल १० टोली सहभागी प्रतियोगिता ‘पोल ए’ र ‘पोल बी’ मा विभाजन गरी नकआउट आधारमा सञ्चालन गरिएको थियो। प्रतियोगितामा फेलेले युवा समाज, योङ्ग स्टार क्लब (‘ए’ र ‘बी’), फुटबल क्लब भोर्ले (‘ए’ र ‘बी’), मधुवन युवा क्लब (‘ए’, ‘बी’ र ‘सी’), एक्टिभ भोर्ले युवा क्लब र बटुवा युवा समाजको सहभागिता रहेको थियो।

​‘पोल ए’ तर्फको पहिलो चरणमा मधुवन ‘सी’ लाई हराउँदै अघि बढेको आयोजक फेलेले युवा समाजलाई सेमिफाइनलमा स्तब्ध पार्दै मधुवन ‘बी’ ले फाइनलको यात्रा तय गरेको थियो। यस्तै ‘पोल बी’ तर्फ मधुवन ‘ए’ ले सेमिफाइनलमा एफसी भोर्ले ‘ए’ लाई पराजित गर्दै उपाधि भिडन्तमा आफ्नै ‘बी’ टोलीसँगको भेट पक्का गरेको थियो।

​सहयोगीहरूप्रति आभार

प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न देश तथा विदेशमा रहेका खेलप्रेमी तथा सहयोगीहरूबाट आर्थिक र भौतिक सहयोग प्राप्त भएको आयोजक फेलेले युवा समाजले जनाएको छ।

​मुख्य सहयोगीहरूमा फ्रान्स आर्मीमा कार्यरत आकाश गुरुङ (रु. १५,०००), हङकङ निवासी नवीनसिंह गुरुङ (रु. १३,०००), अष्ट्रेलिया निवासी सन्दीप गुरुङ र झकबहादुर गुरुङ तथा वडाध्यक्ष सोमबहादुर गुरुङ (जनही रु. १०,०००) रहनुभएको छ। यस्तै नेपाल आर्मीका होमबहादुर गुरुङ, नेपाल इन्ट्रेपिड ट्रेक्स एन्ड एक्सपिडिसन, पदयात्रा मार्गदर्शक हेमलाल गुरुङ, इन्डियन आर्मीका राम गुरुङ, ग्रीस निवासी योगेन्द्रबहादुर गुरुङलगायत विभिन्न देशमा रहेका सहयोगी दाताहरूबाट आर्थिक सहयोग प्राप्त भएको थियो।

​कार्यक्रममा खानेपानी, सामग्री ढुवानी तथा गाडी सहयोग गर्ने व्यवसायी लोकबहादुर गुरुङ र प्रतियोगिताका एन्फा ‘डी’ लेभल रेफ्री सुरज पाख्रिन गुरुङलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको आयोजक क्लबका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो समाचार सेयर गर्नुहोस्: WhatsApp Viber X
प्रकाशक त्रिकोण खबर

त्रिकोण संवाददाता

तपाईंको प्रतिक्रिया

Facebook मार्फत प्रतिक्रिया दिनुहोस्। अशिष्ट वा घृणा फैलाउने प्रतिक्रिया हटाइनेछ।