आइतवार, ६ मंसिर २०८३

जोखिमपूर्ण परिस्थितिमा उत्कृष्ट काम गर्ने स्वास्थ्यकर्मीको अनुभव खोज्दै निक साइमन इन्स्टिच्युट

१५ पटक पढिएको
१ सेयर
WhatsApp Viber X
२ मिनेट पढाइ
अक्षर:

बद्री पौडेल ,काठमाडौं ,२०८३  कार्तिक २५ गते

दुर्गम तथा जोखिमपूर्ण परिस्थितिमा रहेर स्वास्थ्य सेवामा उल्लेखनीय योगदान पुर्‍याउने स्वास्थ्यकर्मीको कामको पहिचान, प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले निक साइमन इन्स्टिच्युटले हरेक वर्ष देशव्यापी रूपमा केस स्टोरी संकलन तथा छनोट गर्दै आएको छ।

यसैक्रममा १४औँ ग्रामीण स्वास्थ्यकर्मी सम्मेलन आगामी २०८३ माघ १२ देखि १४ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ। सम्मेलनका अवसरमा देशभरका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले जोखिमपूर्ण अवस्थामा रहेर गरेका उल्लेखनीय काम, नवीन अभ्यास, चुनौती र सफलताका अनुभव समेटिएका केस स्टोरी प्रस्तुत गरिनेछन्।

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र र निक साइमन इन्स्टिच्युटको सहकार्यमा तयार गरिएको सूचनाअनुसार केस स्टोरीलाई पृष्ठभूमि, मुख्य सामग्री र निष्कर्ष गरी तीन खण्डमा प्रस्तुत गर्नुपर्नेछ। छनोट भएका केस स्टोरी सम्मेलनमा प्रस्तुत गरिनेछन् भने उत्कृष्ट कार्य गर्ने स्वास्थ्यकर्मीलाई सम्मानसमेत गरिनेछ। यसले स्वास्थ्यकर्मीलाई आफ्नो अनुभव र सिकाइ देशभरका अन्य स्वास्थ्यकर्मीसँग आदानप्रदान गर्ने अवसर प्रदान गर्नेछ।

नेपालमा लामो समयदेखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको निक साइमन इन्स्टिच्युटले विशेषगरी दुर्गम तथा पश्चिम नेपालका जिल्लामा स्वास्थ्य सेवा विस्तार, स्वास्थ्य पूर्वाधार निर्माण र दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। संस्थाले चिकित्सक, नर्स तथा हेल्थ असिस्टेन्टलगायत स्वास्थ्यकर्मीलाई छात्रवृत्ति तथा आफ्नै लगानीमा अध्ययनको अवसर प्रदान गर्नुका साथै विभिन्न जिल्लामा अस्पताल निर्माण र स्वास्थ्य सेवा सुदृढीकरणमा सहयोग गर्दै आएको छ।

स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि मात्र होइन, कठिन परिस्थितिमा पनि सेवाभावका साथ काम गर्ने स्वास्थ्यकर्मीको योगदानलाई राष्ट्रियस्तरमा चिनाउने निक साइमन इन्स्टिच्युटको यो अभ्यासलाई महत्वपूर्ण मानिएको छ। सम्मेलनमार्फत स्वास्थ्यकर्मीका वास्तविक अनुभव, चुनौती र सफल अभ्यासलाई अभिलेखीकरण गर्दै अन्य स्वास्थ्य संस्थाका लागि समेत सिकाइको स्रोत बनाउने अपेक्षा गरिएको छ।

केस स्टोरी आगामी २०८३ कात्तिक ३० गतेभित्र राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको इमेल info@nhtc.gov.np तथा निक साइमन इन्स्टिच्युटका प्रतिनिधि nrshrestha@nsi.edu.np मा पठाउन सकिनेछ। साथै https://conference.nsi.edu.np मार्फत अनलाइन आवेदनसमेत दिन सकिने व्यवस्था गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो समाचार सेयर गर्नुहोस्: WhatsApp Viber X
प्रकाशक त्रिकोण खबर

त्रिकोण संवाददाता

तपाईंको प्रतिक्रिया

Facebook मार्फत प्रतिक्रिया दिनुहोस्। अशिष्ट वा घृणा फैलाउने प्रतिक्रिया हटाइनेछ।