आइतवार, ६ मंसिर २०८३

धादिङमा पाँच लायन्स क्लबको संयुक्त पदस्थापन, ‘धादिङ समाज’लाई चार्टर हस्तान्तरण

७२ पटक पढिएको
३ सेयर
WhatsApp Viber X
३ मिनेट पढाइ
अक्षर:

धादिङबेसी ,२०८३ कार्तिक २८ गते

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आई, नेपालअन्तर्गत रिजन ०५, जोन ०९ मा आबद्ध पाँचवटा लायन्स क्लबको संयुक्त पदस्थापन तथा चार्टर हस्तान्तरण कार्यक्रम शनिबार धादिङबेसीस्थित क्रीक रिसोर्टमा सम्पन्न भएको छ।

डिस्ट्रिक्ट गभर्नर लायन सूर्यकुमार केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पहिलो सत्रको सभापतित्व जोन चेयरपर्सन लायन बद्री अधिकारी र दोस्रो सत्रको सभापतित्व लायन्स क्लब अफ धादिङ भैरवीका अध्यक्ष लायन प्रकाश सापकोटाले गर्नुभएको थियो। कार्यक्रममा डिस्ट्रिक्टका सेकेन्ड भाइस गभर्नर लायन विष्णु भण्डारीको विशेष आतिथ्यता रहेको थियो।

कार्यक्रममा डिस्ट्रिक्ट सेक्रेटरी लायन अनुजकुमार श्रेष्ठ, डिस्ट्रिक्ट कोअर्डिनेटर लायन कविता इटनी, डिस्ट्रिक्ट डिपार्टमेन्ट चिफ लायन कृष्ण बद्री पौडेल, रिजन चेयरपर्सन लायन कृष्णप्रसाद ढकाल ‘शिशिर’लगायत लायन्स नेतृत्वको उपस्थिति थियो।

संयुक्त पदस्थापन कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीका अध्यक्ष लायन राजाराम रिजाल, लायन्स क्लब अफ धादिङ हाइटका कोषाध्यक्ष राजारम खतिवडा , लायन्स क्लब अफ धादिङ मण्डलीका अध्यक्ष लायन हरिकुमार श्रेष्ठ र  क्लबहरुका पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो। चारवटा क्लबका पदाधिकारीलाई सेकेन्ड भाइस गभर्नर लायन विष्णु भण्डारीले   गभर्नर को आज्ञामा पदस्थापन  गराउनुभएको थियो।

कार्यक्रमको अर्को महत्त्वपूर्ण उपलब्धिका रूपमा लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीको प्रायोजनमा स्थापना भएको नयाँ क्लब लायन्स क्लब अफ धादिङ समाजलाई चार्टर हस्तान्तरण गरिएको छ। क्लबका चार्टर प्रेसिडेन्टमा लायन डा. दिनेश रेग्मी रहनुभएको छ। नयाँ सदस्यहरूलाई डिस्ट्रिक्ट गभर्नर लायन सूर्यकुमार केसीले शपथ ग्रहण गराउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै डिस्ट्रिक्ट गभर्नर केसीले लायन्स क्लबहरूलाई आफ्नो सेवाको दायरा विस्तार गर्दै समुदायको आवश्यकता पहिचान गरी सेवामूलक गतिविधिमा सक्रिय हुन आग्रह गर्नुभयो। क्लबहरूबीच सहकार्य, एकता र संस्थागत जिम्मेवारीलाई बलियो बनाउँदै अन्तर्राष्ट्रिय तथा डिस्ट्रिक्टका कार्यक्रमसँग जोडिएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।

धादिङमा लायन्स अभियानले पछिल्ला तीन–चार वर्षदेखि सामाजिक सेवा, राहत तथा मानवीय सहयोगका क्षेत्रमा निरन्तर काम गर्दै आएको छ। गत भदौ १० गतेको बाढीपहिरोबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति पुगेपछि लायन्स अन्तर्राष्ट्रियको पहलमा नुवाकोटमा मोटरबाट सञ्चालन हुने तुइन निर्माणलगायत राहत तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन भएका थिए।

धादिङमा पनि स्थानीय लायन्स क्लबहरूले शीतल छहारी नेपालसँग सहकार्य गर्दै विदुर नगरपालिका–७, तुप्चेमा राहत वितरण गरेका थिए। त्यसैगरी गलौंदी र  बिहानी पम्प  क्षेत्रमा समेत राहत तथा मानवीय सहयोगका कार्यक्रममा लायन्सकर्मीहरू सक्रिय भएका थिए। विपद्का बेला संस्थाले देखाएको सक्रियता र मानवीय सेवाभावको उच्च प्रशंसा गर्दै डिस्ट्रिक्ट गभर्नर, सेकेन्ड भाइस गभर्नर तथा डिस्ट्रिक्ट नेतृत्वले धादिङका लायन्सकर्मीहरूलाई धन्यवाद व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा डिस्ट्रिक्ट डिपार्टमेन्ट चिफ लायन कृष्ण बद्री पौडेलले लायन्स क्लब स्थापना गर्नु मात्रै ठूलो कुरा नभई त्यसलाई निरन्तरता दिनु, संस्थागत रूपमा दिगो बनाउनु र सेवाका गतिविधिलाई लामो समयसम्म प्रभावकारी रूपमा सञ्चालन गर्नु मुख्य चुनौती रहेको बताउनुभयो। क्लबमा आबद्ध प्रत्येक सदस्य तथा पदाधिकारीले संस्थाको उद्देश्य, जिम्मेवारी र सेवाभावलाई आत्मसात् गर्दै सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो।

नयाँ क्लबको चार्टर हस्तान्तरणसँगै धादिङमा लायन्स क्लबहरूको संख्या पाँच पुगेको छ। नयाँ नेतृत्व, थप सदस्य र नयाँ क्लबको विस्तारले जिल्लामा मानवीय सेवा, सामाजिक उत्तरदायित्व र सामुदायिक विकासका गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा जिल्लामा क्रियाशील विभिन्न लायन्स क्लबका पदाधिकारी, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सदस्य तथा लायन्स नेतृत्वको उल्लेख्य सहभागिता रहेको थियो भने कार्यक्रम रिजन चियर्स पर्सन तथा सूर्यमुखीका पूर्व अध्यक्ष लायन बिक्रम बि क ले सन्चालन गर्नु भएको हो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो समाचार सेयर गर्नुहोस्: WhatsApp Viber X
प्रकाशक त्रिकोण खबर

त्रिकोण संवाददाता

तपाईंको प्रतिक्रिया

Facebook मार्फत प्रतिक्रिया दिनुहोस्। अशिष्ट वा घृणा फैलाउने प्रतिक्रिया हटाइनेछ।