बद्री पौडेल , धादिङ
नदीले भूगोललाई छुट्याउँछ, पुलले मानिसको जीवन, सम्बन्ध र सभ्यतालाई जोड्छ। धादिङको आँखुखोलामाथि रहेको ‘आँखुको साउ’ झोलुङ्गे पुल पनि यस्तै ऐतिहासिक महत्त्व बोकेको सम्पदा हो। दशकौँदेखि धादिङको उत्तरी भेगका बासिन्दालाई खहरे बजार, सल्यानटार र आरुघाटसँग जोड्दै आएको यो पुल विगतको कठिन यात्रा र ग्रामीण जनजीवनको परिवर्तनको साक्षी बनेको छ।
साविक त्रिपुरेश्वर गाविसमा पर्ने खहरे बजार र अचनेटार जाने बाटोमा रहेको यो झोलुङ्गे पुल पञ्चायतकालमै निर्माण भएको पुरानो पुलमध्ये एक मानिन्छ। स्थानीय रूपमा ‘आँखुको साउ’ नामले चिनिने यस स्थानमा अहिले देखिएको पुल नै पहिलो संरचना भने होइन। स्थानीय इतिहासअनुसार, सुरुमा यही नामको झोलुङ्गे पुल अहिलेको बेली ब्रिज रहेको स्थानको सीधै तल, हालको पुलभन्दा केही पर निर्माण गरिएको थियो। पछि त्यसको स्थान परिवर्तन गरी अहिले देखिएको पुल बनाइएको हो।
कुनै समय धादिङको उत्तरी भेगका बासिन्दाका लागि यो पुल अत्यावश्यक आवागमनको माध्यम थियो। साविकका मार्पाक, सत्यदेवी, दार्खा, झार्लाङ, लापा, सेर्तुङ, तिप्लिङ, री, गुम्दी र फूलखर्कलगायत क्षेत्रका मानिसहरू यही पुल तरेर खहरे बजार, सल्यानटार र आरुघाट पुग्थे। बजार भर्न, खाद्यान्न ओसारपसार गर्न, विद्यालय जान तथा स्वास्थ्य उपचारका लागि आवतजावत गर्न यो पुलले महत्त्वपूर्ण भूमिका खेलेको थियो।
आँखुको साउको सम्बन्ध स्थानीय आवागमनसँग मात्र होइन, ऐतिहासिक पैदलमार्गसँग पनि जोडिएको छ। गोरखाबाट आरुघाट हुँदै सल्यानटार, त्रिपुरेश्वर र आँखुको साउ पार गरेर चरङ्गे, टोड्के, कटुञ्जे पउवा, भोग्टेनी, भर्याङभुरुङ हुँदै सामरीतर्फ जाने पुरानो पैदलमार्ग यही क्षेत्रसँग जोडिएको थियो। यस मार्गबाट नुवाकोट हुँदै काठमाडौँसम्म पुग्ने पैदलयात्राको परम्परा पनि थियो।
झोलुङ्गे पुल बन्नुअघि बिभिन्न ठाउँमा तुईनको सहारा लिनुपर्ने बाध्यता थियो। नदीमाथि लट्ठा तानेर त्यसमा कोर्को वा काठको पिर्का राखी वारपार गर्नुपर्ने अवस्था थियो। वर्षायाममा उर्लिएको नदीमाथि तुइनबाट यात्रा गर्नु निकै जोखिमपूर्ण हुन्थ्यो। पछि झोलुङ्गे पुल निर्माण हुन थालेपछि ग्रामीण बासिन्दाको आवागमन सुरक्षित र सहज बन्यो। पञ्चायतकालदेखि सुरु भएको यस्तो पुल निर्माणले दुर्गम बस्तीहरूलाई बजार र सेवासुविधासँग जोड्न महत्त्वपूर्ण योगदान पुर्यायो।
आँखुको साउ झोलुङ्गे पुलको अर्को आकर्षण आँखुखोलाको प्राकृतिक सुन्दरता हो। पुल आसपासका चट्टानी पहाड, हरियाली वनजङ्गल र खोलाको गहिरो जलप्रवाहले यस क्षेत्रलाई रमणीय बनाएको छ। विशेषगरी पुलको कुनापट्टि रहेको गहिरो भागमा गर्मी मौसममा विद्यालयका विद्यार्थी तथा स्थानीय युवाहरू पौडी खेल्न आउने गर्थे। विगतमा अहिलेभन्दा खोलाको गहिराइ अझ बढी रहेको स्थानीयहरू बताउँछन्।
अहिले झोलुङ्गे पुलको माथिल्लो भागमा मध्यपहाडी लोकमार्गअन्तर्गत नेपाली सेनाले करिब दुई वर्षअघि निर्माण गरेको बेली ब्रिज सञ्चालनमा छ। मोटरेबल पुलले सवारी आवागमन सहज बनाए पनि तल रहेको पुरानो झोलुङ्गे पुलको ऐतिहासिक महत्त्व भने घटेको छैन। एउटै स्थानमा पुरानो झोलुङ्गे पुल र आधुनिक बेली ब्रिज देखिनुले यस क्षेत्रको यातायात विकासको क्रमलाई समेत प्रतिबिम्बित गर्छ।
आँखुको साउ केवल नदी वारपार गर्ने संरचना होइन, यो धादिङको उत्तरी भेगको इतिहास, भूगोल र पुस्तौँदेखिको जनजीवनसँग जोडिएको पहिचान हो। विगतमा तुइनको जोखिमपूर्ण यात्रा गर्दै आएका मानिसलाई सुरक्षित आवागमनको बाटो दिएको यस पुलले समयसँगै आएको विकास र परिवर्तनको कथा बोकेको छ। त्यसैले यस्ता पुराना झोलुङ्गे पुलको इतिहास अभिलेखीकरण र संरक्षण गर्नु आवश्यक छ। नयाँ सडक र मोटरेबल पुल निर्माणसँगै पुराना संरचनाको महत्त्व र योगदान पनि बिर्सनु हुँदैन।




तपाईंको प्रतिक्रिया
Facebook मार्फत प्रतिक्रिया दिनुहोस्। अशिष्ट वा घृणा फैलाउने प्रतिक्रिया हटाइनेछ।