आइतवार, ६ मंसिर २०८३

मियोमा घुम्ने गोरुदेखि आधुनिक मेसिनसम्म : बदलिँदो धान भित्र्याउने परम्परा

३२ पटक पढिएको
१ सेयर
WhatsApp Viber X
२ मिनेट पढाइ
अक्षर:

बद्री पौडेल ,२०८३ साल कार्तिक २२ गते , धादिङ

कात्तिक–मंसिर नेपाली किसानका लागि धान भित्र्याउने चटारोको मौसम हो। असारमा रोपेको धान पाकेपछि खेतबारीमा किसानको व्यस्तता बढ्छ। तर धान भित्र्याउने परम्परागत शैली भने समयसँगै फेरिँदै गएको छ। हिजो गोरु, मियो, खला र परालका भारीसँग जोडिएको कृषि जीवन आज आधुनिक मेसिन र ट्र्याक्टरमा सीमित हुँदै गएको छ।

पहिले धान काटेपछि स-साना मुठा बनाएर बिटा लगाइन्थ्यो। ती बिटा खलामा ल्याएर गोबरमाटोले लिपेर पोतेको खलाको बीचमा राखिएको ढुङ्गामाथि झारिन्थ्यो। त्यसपछि गोरुले कुल्चाउँदै मलाएर धान र पराल छुट्याइन्थ्यो। धान बोरामा भरेर घर लगिन्थ्यो भने पराल खलाको एकापट्टि थुपारेर राखिन्थ्यो।

धान भित्र्याइसकेपछि परालको छुट्टै दाइँ गरिन्थ्यो। खलाको बीचमा बाँस वा लामो काठको मियो गाडेर त्यसमा गोरु नारिन्थ्यो। परालका मुठा र डाँठमाथि गोरु घुमाउँदै माड्ने प्रक्रियालाई दाइँ भनिन्थ्यो। यसरी माड्दा परालका डाँठ चेपिन्थे र त्यसमा लागेको माटो तथा फोहोर टक्टकिन्थ्यो। विशेषगरी ढाप खेतको पराल सफा गर्न दाइँ आवश्यक मानिन्थ्यो। पराल राम्ररी माडिसकेपछि पुला–पुला बनाएर घरमा ल्याई टौवा लगाएर राख्ने चलन थियो। दाइँका क्रममा बाँकी रहेका धानका दाना र भुससमेत छुट्याइन्थे।

यो प्रक्रिया केवल धान र पराल छुट्याउने काम थिएन, गाउँघरको सामूहिक श्रम र सहकार्यको परम्परा पनि थियो। कतिपय ठाउँमा १०–१२ वटासम्म गोरु लगाएर मियो वरिपरि दाइँ गरिन्थ्यो। परिवार र छिमेकी मिलेर धान भित्र्याउनेदेखि परालका पुला बनाउनेसम्मका काममा सहभागी हुन्थे। कतिपय किसानले धान काटेपछि खेतमै कुनो लगाएर राख्ने र केही महिनापछि झार्ने चलनसमेत अपनाउँथे।

तर पछिल्लो १२–१५ वर्षयता यो परम्परागत शैलीमा उल्लेख्य परिवर्तन आएको छ। गोरुपालन घट्नु, कृषि श्रमिकको अभाव, वैदेशिक रोजगारी र आधुनिक प्रविधिको विस्तारले दाइँ गर्ने चलन पहिलेको तुलनामा निकै कम भएको छ। अहिले खेतमै वा खेतको छेउमा धानको रास लगाउने, ट्र्याक्टरबाट घर ल्याउने र मेसिनबाट धान तथा पराल छुट्याउने क्रम बढेको छ। गाईभैँसी पाल्ने परिवार घटेसँगै परालको उपयोग र टौवा लगाउने चलनसमेत कम हुँदै गएको छ।

तस्बिरमा देखिएको धानको रास पनि यही कात्तिक–मंसिरको धान भित्र्याउने मौसमको दृश्य हो। अहिले किसानलाई पाकेको धान सुरक्षित रूपमा घर भित्र्याउने चटारो छ। मेसिनले समय र श्रम बचाएको छ, तर त्यससँगै गोरु, मियो, दाइँ र परालका टौवासँग जोडिएको ग्रामीण जीवनशैली पनि क्रमशः ओझेल पर्दै गएको छ।

हिजो खलाको बीचमा ढुङ्गा राखेर धानका बिटा झारिन्थे, मियोमा गोरु घुमाएर पराल माडिन्थ्यो। आज त्यही काम मेसिनले गरिरहेको छ। धान उब्जाउने मौसम उस्तै छ, तर धान भित्र्याउने तरिका र त्यससँग जोडिएको पुस्तौँ पुरानो कृषि संस्कृति भने बदलिँदै गएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो समाचार सेयर गर्नुहोस्: WhatsApp Viber X
प्रकाशक त्रिकोण खबर

त्रिकोण संवाददाता

तपाईंको प्रतिक्रिया

Facebook मार्फत प्रतिक्रिया दिनुहोस्। अशिष्ट वा घृणा फैलाउने प्रतिक्रिया हटाइनेछ।