काठमाडौं ,  धादिङ

नेपाली कांग्रेसले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपाबाट फागुन १२ गते जारी विज्ञप्तिअनुसार ‘साम्बा’को एसीएलमा गरिएको शल्यक्रियापछि हाल ग्राफ्टमा समस्या देखिएको र थप जटिल शल्यक्रियाको तयारी भइरहेको उल्लेख गरिएको छ। उनको उपचारमा सहयोग पुर्‍याउनु सबैको कर्तव्य भएको कांग्रेसले जनाएको छ।

यसै सन्दर्भमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्षसँग टेलिफोन संवाद गरी पार्टीको तर्फबाट उपचार कोषमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। सोही प्रतिबद्धताअनुसार एन्फाको ग्लोबल आईएमई बैंक लिमिटेडमा रहेको खाता नम्बर ३४०१०१०१००९१७३६ मा ५ लाख रुपैयाँ जम्मा गरिएको विज्ञप्तिमा उल्लेख छ।

पार्टी सभापति शेरबहादुर देउवाले देशको प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान पुर्‍याएकी खेलाडी ‘साम्बा’प्रति उच्च सम्मान व्यक्त गर्दै उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै, कांग्रेसले खेलकुद क्षेत्रलाई मनोरञ्जनभन्दा माथि उठाएर ‘राष्ट्रिय पहिचान’ र राष्ट्र निर्माणमा युवा सहभागिताको महत्वपूर्ण आधारका रूपमा अघि बढाउने संकल्प व्यक्त गरेको छ।

विज्ञप्तिमा का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालको हस्ताक्षर रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0