धादिङ ,२०८३ असोज ५ गते

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङका १०४ वटै वडामा सोमबार अधिवेशन भइरहँदा जिल्लाका तीन प्रभावशाली नेताले पार्टीभित्र एकता र सहमतिका साथ अघि बढ्ने सन्देश दिएका छन्।

कांग्रेस केन्द्रीय सदस्यद्वय रमेश धमला र दिलमान पाख्रिन तथा नीलकण्ठ नगरपालिकाका नगरप्रमुख भीमप्रसाद ढुंगानाबीच सोमबार बिहान भएको छलफलमा वडा अधिवेशनदेखि जिल्ला अधिवेशनसम्म अनावश्यक प्रतिस्पर्धा र विवाद नगरी सहकार्यका साथ अघि बढ्ने समझदारी भएको महासमिति सदस्य सरोज अधिकारीले जानकारी दिए।

छलफलमा संगठनका लागि सक्रिय रहेका तथा निर्वाचनका क्रममा पार्टीको पक्षमा अग्रपंक्तिमा खटिएका नेता–कार्यकर्तालाई क्षेत्रीय प्रतिनिधि चयनमा प्राथमिकता दिनुपर्नेमा जोड दिइएको थियो।

तीन नेताले आफूहरूबीचको सहकार्य कुनै व्यक्ति वा समूहलाई पराजित गर्न नभई कांग्रेसलाई थप बलियो बनाउने उद्देश्यले भएको स्पष्ट पारेका छन्। साथै, आफू निकट समूहमा मात्र सीमित नभई कांग्रेसका अन्य नेता तथा कार्यकर्तालाई समेत समेटेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

अधिकारीका अनुसार, “हामीबीचको एकता कसैलाई हराउनका लागि होइन, पार्टी बलियो बनाउनका लागि हो” भन्ने धारणा नेताहरूले राखेका थिए।

धादिङ कांग्रेसले संशोधित कार्यतालिकाअनुसार सोमबार वडा अधिवेशन, असोज ७ गते पालिका अधिवेशन र असोज १० गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0