धादिङ । नीलकण्ठ नगरपालिकाको आयोजनामा धादिङबेसीमा आयोजना हुन लागेको युवासँग उपप्रमुख कार्यक्रम अन्तर्गत दोस्रो संस्करणको युवा सीप तथा रोजगार मेला सम्पन्न हुने तयारी अन्तिम चरणमा पुगेको छ।
शुक्रबार नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्माले “रोजगारी पाउन र यही बसेर कमाउन सकिन्छ भन्ने सन्देश दिनु मेलाको मुख्य उद्देश्य हो” भन्दै, मेलामार्फत युवालाई सीप, तालिम र रोजगारीका अवसर उपलब्ध गराउने लक्ष्य रहेको जानकारी दिनुभयो।
मेलाले रोजगारको खोजीमा रहेका युवाहरुलाई स्वदेशमै सरल ढंगले रोजगारी पाउने वातावरण बनाउने, रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराउने, उद्यमशीलता र स्वरोजगार सम्बन्धी ज्ञान प्रदान गर्ने, सीप भएका युवालाई रोजगारीको अवसर दिने र आवश्यक परामर्श सेवा उपलब्ध गराउने अपेक्षा गरिएको उपप्रमुख विश्वकर्माको भनाइ छ।
गत वर्ष सञ्चालन गरिएको मेलाबाट प्रेरित हुँदै यस वर्ष नगरपालिकाले ६ सय ६५ जनालाई विभिन्न रोजगारमुखी तालिम प्रदान गरेको जानकारी दिँदै, मेलाले युवाको रुचि र आवश्यकता बुझ्न महत्वपूर्ण योगदान पुर्याएको नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले बताउनुभयो।
मेलामा अचार, डल, ढाका र गलैंचा बुनाइ, दुना-टपरी, तरकारी, मादल-डम्फु, दुधजन्य पदार्थ, झेला, कफी मेकिङ, नेवारी खाजा जस्ता स्थानीय उत्पादन तथा सीप प्रदर्शन गरिने ३० वटा स्टल समावेश गरिने योजना रहेको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।
मेलामा युवा उद्यमीहरूको अनुभव आदानप्रदान, सीप तालिमको माग संकलन, उत्प्रेरणात्मक विचारहरूको प्रस्तुती, सेवा प्रदायक र उद्योगहरूको जानकारीमूलक प्रदर्शनी तथा युवा लक्षित पुस्तकहरूको विक्रि पनि गरिने बताइएको छ।
मेलाले युवालाई अवसर, उत्प्रेरणा र नयाँ सोचको प्लेटफर्म दिने विश्वास आयोजक पक्षको छ।






