धादिङ, असार १७।
धादिङ प्रहरीले १३ वर्षअघि लागू औषध (गाँजा/चरेश) सम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ।
प्रहरीले गजुरी गाउँपालिका–५, रिछ्याङबाट हिरा बहादुर तामाङलाई पक्राउ गरेको हो। तामाङ जिल्ला धादिङ साबिक बैरेनो गा.वि.स. वडा नं. ४ हाल गल्छी गाउँपालिका वडा न ५ निवासी हुन्। उनीमाथि अदालतले लागू औषध कारोबारमा संलग्न भएको अभियोगमा ४ बर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकेको थियो।
धादिङ जिल्ला अदालतबाट फैसलाको कार्यान्वयनको क्रममा फरार प्रतिवादीको खोजी गर्ने क्रममा इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। तामाङलाई पक्राउ गरी फैसलाको कार्यान्वयनका लागि जिल्ला अदालत धादिङमा पेश गरिएको प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता सुभाष हमालले जानकारी दिए।
पक्राउ परेका तामाङलाई हाल आवश्यक कानुनी प्रक्रियाका लागि अदालतमा बुझाइएको छ।






