धादिङबेँसी । यो साता सुनको मूल्यमा लगातार गिरावट आएको छ । अन्तरराष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा पनि पछिल्ला चार दिनदेखि सुन सस्तो हुँदै गएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
गत आइतबार एकैदिन प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेर दुई लाख ४१ हजार ९०० मा पुगेको सुनको मूल्य सोमबार पुनः तोलामा दुई हजारले घट्दै दुई लाख ३९ हजार ९०० मा झरेको थियो ।
मङ्गलबार पनि सुन तोलामा दुई हजार ९०० ले सस्तो हुँदै दुई लाख ३७ हजारमा कारोबार भएको थियो भने आज (बुधबार) पुनः तोलामा सात सयले घटेर दुई लाख ३६ हजार ३०० कायम भएको महासङ्घले जानकारी दिएको छ ।
यसैबीच, आज चाँदीको मूल्य भने बढेको छ । मङ्गलबार प्रतितोला दुई हजार ९२० मा कारोबार भएको चाँदी आज बढेर दुई हजार ९६५ पुगेको छ ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ९६० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तरराष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् ।






