चित्र बहादुर गुरुङ ,धादिङ — धादिङको नीलकण्ठ नगरपालिका–१२ र १३ का विभिन्न विद्यालयका विद्यार्थीलाई नगद तथा शैक्षिक सामग्री वितरण गरिएको छ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति धादिङका सदस्य एवं Trekking Agencies Association of Nepal (TAAN) का केन्द्रीय सदस्य, पर्यटन व्यवसायी तथा समाजसेवी राजु गुरुङ र ताइवानी नागरिक मिस चाङ यू फाङ (एमी) को संयोजनमा सहयोग वितरण गरिएको हो।
साविक साङ्कोष गाविसका पशुपति माध्यमिक, रनदेवी आधारभूत, साङ्कोष माध्यमिक, मनरुपी माध्यमिक र पंचकन्या माध्यमिक विद्यालयका गरी २३५ जना असहाय तथा जेहेन्दार विद्यार्थीलाई जनही ११ हजार रुपैयाँका दरले २५ लाख ८५ हजार रुपैयाँ बराबरको नगद र ११३५ जना विद्यार्थीलाई प्रती विद्यार्थी एक हजार रुपैयाँ बराबरका स्टेशनरी सामग्री वितरण गरिएको विद्यालय स्रोतले जनाएका छन्।
प्रधानाध्यापक रामप्रसाद लामिछानेका अनुसार, साङ्कोष माध्यमिक विद्यालयमा भएको कार्यक्रम मिति २०८२/०७/१२ गते विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राकेश धमलाको अध्यक्षता र नीलकण्ठ–१२ का वडा अध्यक्ष राजकुमार भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा पूर्व विद्यालय व्यवस्थापन समिति सदस्य तथा शिक्षक अभिभावक संघका अध्यक्ष टंक प्रसाद धमला विशेष अतिथि थिए।
सोही दिन रनदेवी आधारभूत विद्यालयमा वि.व्य.स. अध्यक्ष फूलमाया तामाङको अध्यक्षता र नीलकण्ठ–१३ का वडा अध्यक्ष सोमबहादुर गुरुङको प्रमुख आतिथ्यतामा सहयोग वितरण गरिएको प्रधानाध्यापक विनोद श्रेष्ठले बताउनु भयो।
यस्तै, प्रधानाध्यापक टोप बहादुर गुरुङका अनुसार , मनरुपी माध्यमिक विद्यालय, नीलकण्ठ–१३ मा वि.व्य.स. अध्यक्ष रेशम बहादुर गुरुङको अध्यक्षता र वडा अध्यक्ष सोमबहादुर गुरुङकै प्रमुख आतिथ्यतामा कार्तिक १३ गते सहयोग वितरण गरिएको थियो। पशुपति र पंचकन्या माध्यमिक विद्यालयमा पनि लगत्तै सहयोग वितरण गरिने विद्यालय स्रोतले जनाएको छ।
राजु गुरुङको प्राविधिक समन्वयमा सञ्चालन भएको यो सहयोग अभियान विगत नौ वर्षदेखि निरन्तर रूपमा जारी रहेको विद्यालय स्रोतले बताइएको छ।
त्यस्तै, दोलखा जिल्लाका १० विद्यालय (४ आधारभूत र ६ माध्यमिक) र काठमाडौंका केही विद्यालयमा अध्ययनरत ३५८ विद्यार्थीलाई पनि गुरुङले निरन्तर रूपमा समान दरको नगद सहयोग वितरण गर्दै आएका छन्।
साङ्कोष, मनरुपी र रनदेवी विद्यालयमा आयोजित कार्यक्रममा सहयोगी ताइवानी र मलेसियाली नागरिकको तर्फबाट पठाइएको प्रशंसापत्र (Letter of Appreciation) राजु गुरुङलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए। कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी र अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
विद्यालयहरूले सहयोगी राजु गुरुङ, मिस एमी तथा सम्पूर्ण सहयोगीहरूलाई फूलमाला, खाँदा सहित धन्यवाद ज्ञापन गरेका छन्।







