धादिङ । धार्मिक आस्था, संस्कृति र प्रकृतिको संगमका रूपमा परिचित गंगाजमुना माईको मेला आजदेखि धादिङको गंगाजमुना गाउँपालिका–५, ढाँडखर्कमा सुरु भएको छ।

केही दिनयता लगातार भइरहेको अविरल वर्षाले मेलाको कार्यक्रममा केही प्रभाव पार्न सक्ने अनुमान गरिएको छ। यद्यपि, भक्तजनहरूको उत्साह भने घटेको छैन। स्थानीयवासी र तीर्थयात्रीहरू आज बिहानैदेखि मेला क्षेत्रमा पुग्न थालेका छन्।

गंगाजमुना गाउँपालिकाले वर्षाको सम्भावित जोखिमलाई ध्यानमा राख्दै मेलाको तयारीमा थप सतर्कता अपनाएको जनाएको छ। गाउँपालिका अध्यक्ष भक्तबहादुर लामाका अनुसार सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको टोली मेलास्थलमा खटाइएको छ।

“अविरल वर्षाका बीच पनि गंगाजमुना माईको मेलालाई सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन गर्न सबै तयारी गरिएको छ। भक्तजनहरूको सुरक्षाका लागि विशेष सतर्कता अपनाइएको छ।”

आज दिउँसो मेला क्षेत्रको सांगीतिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछ भने भोलि बिहान, अर्थात् कार्तिक १५ गते हरिबोधनी एकादशीका दिन, भक्तजनहरूले गंगा र जमुना झरनामा स्नान गरी पूजा–आराधना गर्ने परम्परा रहिआएको छ।

स्थानीय विश्वासअनुसार यहाँ स्नान गर्दा मनोकामना पूरा हुने र रोगव्याधि तथा नकारात्मक शक्ति निवारण हुने जनविश्वास रहँदै आएको छ। स्नान र पूजापछि श्रद्धालु भक्तजनहरू भोलि दिउँसोतिर क्रमशः घर फर्कने छ।

गंगाजमुना गाउँपालिकाले मेलाको अवसरमा सुरक्षा, स्वास्थ्य सेवा, सरसफाइ र खानेपानीको विशेष व्यवस्था मिलाएको जनाएको छ। साथै, गाउँपालिकाभर आजका लागि सार्वजनिक बिदा दिइएको छ।

मेलामा धादिङका विभिन्न गाउँहरूसँगै रसुवा, गोर्खा, तनहुँ, नुवाकोट, काठमाडौं लगायतका जिल्लाबाट भक्तजन आउने अपेक्षा गरिएको छ।

अविरल वर्षाले मेला केही प्रभावित भए पनि भक्तजनको श्रद्धा, आस्था र उत्साह भने यथावत् देखिएको छ।
गंगाजमुना माईको मेला धार्मिक आस्था, सांस्कृतिक परम्परा र सामुदायिक एकताको प्रतीकका रूपमा निरन्तर जीवन्त रहँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0