धादिङ । बंगालको खाडीमा विकसित मोन्था नामक चक्रवातको प्रभाव नेपालमा समेत परेको छ । उक्त चक्रवातका कारण नेपालमा दुई दिनयता अविरल वर्षा भइरहेको छ, जसले गर्दा धादिङमा समेत कृषिमा ठुलो असर पारेको छ ।

अविरल वर्षाका कारण काटेर सुकाउन राखिएको धानमा ठूलो क्षति पुगेको धादिङ जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । विशेषगरी जिल्लाको मध्य भागमा रहेका किसानको धान बालीमा बढी क्षति पुगेको हो ।

कृषि विकास कार्यालयका अनुसार उत्तरी क्षेत्रका किसानले अझै धान भित्र्याउने समय नआएकाले त्यहाँ क्षति कम भए पनि मध्य भागका अधिकांश किसानले काटेर सुकाउने क्रममा राखेको धानमा वर्षाले नोक्सानी पुर्‍याएको छ ।

लगातारको वर्षाका कारण खेतमा पानी जमेको, सुकाउन राखिएका बाली बिग्रिएको र भित्र्याउन बाँकी धानबाली उम्रने जोखिम बढेको किसानहरूले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागले अझै केही दिन देशभर आंशिकदेखि सामान्य वर्षा हुने सम्भावना रहेको बताएको छ । विभागले किसानहरूलाई सर्तक रहन र सुकाउने बालीहरू सुरक्षित स्थानमा राख्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0