धादिङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व बागमती प्रदेश मुख्यमन्त्री बहादुरसिंह लामाले पार्टीभित्रको ढिलासुस्तीप्रति तीव्र असन्तोष व्यक्त गरेका छन् ।

उनले पार्टीको महाधिवेशन मंसिर महिनाभित्र सम्पन्न गर्न नसक्ने नेताहरूप्रति अचम्म व्यक्त गर्दै कांग्रेस गम्भीर संकटमा पर्ने चेतावनी दिएका हुन् ।
लामाले भने, आफूलाई बागमती प्रदेशको मुख्यमन्त्रीबाट हटाउँदा २४ घण्टा पनि नलगाउने नेताहरुले अहिले पार्टीको महाधिवेशन मंसिरमा गर्न सकिन्न भन्दा अचम्म लागेको बताएका छन् ।

लामाका अनुसार पार्टीभित्र अहिले समयमै महाधिवेशन गर्न नचाहने प्रवृत्ति बढ्दै गएको छ । उनले भने, “मंसिर महिना कटाएर ल्याइने तालिका नियमित महाधिवेशनको हुन्न, त्यो अनियमित हुन्छ । अहिले नेताहरू टिकट वितरणमा आफ्नो प्रभाव खोज्दै महाधिवेशन ढिल्याउने खेलमा छन् । यही स्थिति रह्यो भने कांग्रेसको टिकट लिने उम्मेदवार नै नपाइने अवस्था आउँछ ।”

लामाले पार्टी नेतृत्वप्रति कटाक्ष गर्दै भने, “हिजो बाजे, बाले भनेका कुरा छोराछोरीले मान्थे, अहिले ठीक उल्टो भएको छ — छोराछोरीले भनेको कुरा नै बाउबाजेले मान्ने अवस्था आएको छ । नेताहरू नसुध्रिने, टिकेप्रथामा रमाइरहने र समयमा महाधिवेशन नगर्ने हो भने कांग्रेसलाई बचाउन कठिन हुन्छ ।”

त्यस्तै, उनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको विशेष महाधिवेशनको प्रस्तावको समर्थन गर्दै उक्त मागमा साथ दिने ५४ प्रतिशत प्रतिनिधिहरूको आवाजलाई बेवास्ता नगर्न नेतृत्वलाई आग्रह गरे ।

लामाको भनाइले नेपाली कांग्रेसभित्र महाधिवेशनको समयसीमा र नेतृत्व शैलीबारे नयाँ बहस थप तीव्र बनाएको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0