बद्री पौडेल , काठमाडौं
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ‘आई’ नेपाल , भारतको अहमदाबादमा सम्पन्न ५३औँ इशामे (ISAME) एरिया फोरममा सर्वोत्कृष्ट डिष्ट्रिक्टका रूपमा सम्मानित भएको छ।
लायन्स अन्तर्राष्ट्रियका अध्यक्ष ए.पी. सिंहको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेलाई अन्तर्राष्ट्रिय मञ्चमै सर्वोत्कृष्ट डिष्ट्रिक्ट घोषणा गर्दै सम्मान प्रदान गरिएको हो। डिष्ट्रिक्ट ३२५ ‘आई’ नेपालको प्रतिनिधित्व गर्दै गभर्नर पाण्डेले उक्त प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड ग्रहण गरिन्।
डिष्ट्रिक्ट ३२५ ‘आई’ नेपालले लायन्स अन्तर्राष्ट्रियको मिसन १.५ अन्तर्गत सदस्यता विस्तार सम्बन्धी प्रतिबद्धतामा १११ प्रतिशत लक्ष्य हासिल गर्दै उत्कृष्ट प्रदर्शन गरेपछि यो सम्मान प्राप्त भएको हो। गभर्नर पाण्डेले यस सफलतालाई टिमवर्क, रणनीतिक योजना र सेवाभावको प्रतिफल भएको बताइन्।
फोरममा भारतसहित दक्षिण एशिया, अफ्रिका तथा मध्यपूर्वका विभिन्न देशका लायन्स नेताहरूको सहभागिता रहेको थियो। यही अवसरमा गभर्नर पाण्डेले प्रेरणादायी सफलता कथा (Success Story) प्रस्तुत गर्ने अवसरसमेत प्राप्त गरिन्। उनले आफ्नो नेतृत्व यात्रा, सदस्य विस्तारका प्रभावकारी रणनीति, गुणस्तरीय नेतृत्व विकास र सेवा संस्कृतिलाई केन्द्रमा राखेर हासिल गरिएको सफलताको अनुभव अन्तर्राष्ट्रिय मञ्चमा साझा गरिन्।
उक्त कार्यक्रममा डिष्ट्रिक्ट ३२५ ‘आई’ नेपालका जीईटी को–अर्डिनेटर भावना बसेल तथा जीएमटी को–अर्डिनेटर नारायण रेग्मी पनि उत्कृष्ट कार्यसम्पादनका लागि सम्मानित भएका छन्।
गभर्नर पाण्डेले यो उपलब्धि व्यक्तिगत नभई सामूहिक प्रयासको परिणाम भएको उल्लेख गर्दै क्लब अध्यक्षहरू, क्याबिनेट अफिसरहरू तथा अग्रज लायन लिडरहरूको योगदानको खुलेर प्रशंसा गरिन्। साथै, आगामी दिनमा सेवाको दायरा विस्तार, संगठनलाई थप सशक्त र दिगो बनाउने तथा नयाँ पुस्ताका सक्षम लायन नेतृत्व विकासमा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरिन्।
उनको प्रस्तुतिले एशिया तथा अन्य क्षेत्रका लायन्स नेताहरूलाई गहिरो प्रभाव पारेको बताइएको छ। “संगठन विस्तार केवल संख्यामा सीमित हुँदैन; गुणस्तरीय नेतृत्व, सक्रिय सदस्यता र सेवा संस्कृतिको निरन्तरताबाट मात्र दीगो सफलता सम्भव हुन्छ,” भन्ने सन्देशले सभाहलभरि प्रशंसा बटुलेको थियो।
नेपालका पूर्व डिष्ट्रिक्ट गभर्नरहरूले समेत यस उपलब्धिप्रति गर्व व्यक्त गर्दै डिष्ट्रिक्ट ३२५ ‘आई’ नेपालको खुलेर प्रशंसा गरेका छन्। उनीहरूले सेवा मार्फत अन्तर्राष्ट्रिय मानवीय अभियानमा अझ प्रभावकारी भूमिका निर्वाह गर्न लायन्स क्लबहरूलाई आग्रह गरेका छन्।
यो उपलब्धि नेपालका लागि केवल अवार्डमा सीमित नभई संगठनात्मक क्षमता, नेतृत्व विकास र अन्तर्राष्ट्रिय पहिचानलाई थप सुदृढ बनाउने ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ।







