धादिङ ,२०८३ असोज ६ गते

२०८३ भदौ १० गते आएको विनाशकारी बाढीबाट धादिङ जिल्लामा भएको ठूलो जनधन तथा भौतिक क्षतिको उचित सम्बोधन र पुनःस्थापनाका लागि धादिङ उद्योग वाणिज्य संघले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ।

संघले बाढीबाट जिल्लामा परेको विकराल असर, क्षतिको अवस्था तथा प्रभावित क्षेत्रका समस्या समाधानका विकल्प समेटेर जिल्ला प्रशासन कार्यालय धादिङमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको हो।

संघका अध्यक्ष रामकुमार डल्लाकोटीको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमलाई ज्ञापनपत्र बुझाउँदै बाढी प्रभावित व्यवसायी तथा सर्वसाधारणका समस्या तत्काल सम्बोधन गर्न माग गरेको छ।

ज्ञापनपत्रमा बाढीबाट क्षतिग्रस्त सडक, पुल, बजार क्षेत्र, उद्योग–व्यवसाय तथा अन्य भौतिक संरचनाको पुनर्निर्माण र प्रभावितलाई आवश्यक राहत तथा सहयोग उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराइएको छ।

अध्यक्ष डल्लाकोटीले बाढीबाट भएको क्षतिको उचित मूल्यांकन गरी प्रभावित क्षेत्रको पुनःस्थापना र आर्थिक गतिविधि सञ्चालनका लागि विशेष पहल आवश्यक रहेको बताउनुभयो। उहाँले आगामी दिनमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरण गर्न पूर्वतयारी, जोखिमयुक्त क्षेत्रको पहिचान तथा दीर्घकालीन योजना कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो।

धादिङ उद्योग वाणिज्य संघले विपद्पछिको पुनःस्थापना मात्र नभई भविष्यमा हुने सम्भावित बाढी तथा पहिरोजन्य जोखिम न्यूनीकरणका लागि संघ, स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वयात्मक योजना बनाउनसमेत माग गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0