काठमाडौं ,२०८३ असोज ६ गते
त्रिपुरेश्वरमा सोमबार रिद्धिसिद्धि यातायातको बसमा भएको आगलागीमा गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ।
त्रिपुरेश्वरचोकस्थित बस स्टपमा बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी हुँदा चालक गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पुर्याइएको थियो। अस्पतालमा उपचारकै क्रममा सोमबार राति उनको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ।
अस्पतालका अनुसार आगलागीमा चालकको शरीरको करिब ९० प्रतिशत भाग जलेको थियो। उनलाई सोमबार दिउँसो करिब १ बजे अस्पताल लगिएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चालक आफैंले बसभित्र आगो लगाएको देखिएको छ। आगलागी हुनुअघि हर्न बजाएको विषयलाई लिएर चालक र ट्राफिक प्रहरीबीच विवाद भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।
घटनाको कारण, विवादको अवस्था तथा आगलागीको वास्तविक परिस्थितिबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।






