काठमाडौं ,२०८३ असोज ६ गते
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्र देखिएका समस्या पहिचान गरेर व्यवहारमै सुधार नगरेसम्म अपेक्षित परिणाम हासिल गर्न नसकिने बताएका छन्।
मंगलबार बसेको एमाले केन्द्रीय कमिटी बैठकमा बोल्दै पोखरेलले पार्टीको नेतृत्व र कार्यशैलीबारे आत्मसमीक्षा गर्नुपर्ने धारणा राखेका हुन्। उनले अध्यक्ष केपी शर्मा ओलीप्रति आफ्नो सम्मान र विश्वास यथावत् रहेको स्पष्ट पार्दै नेतृत्वले पार्टीका सबै नेता तथा कार्यकर्तालाई समान दृष्टिकोणबाट हेर्नुपर्नेमा जोड दिए।
“तपाईंलाई भ्रम परेको छ। मैले कुनै विषयमा असहमति राख्नु भनेको तपाईंलाई नमान्नु होइन। समस्याहरू छन्, त्यसलाई रियलाइजेसन गरौँ, अनि मात्रै समाधान हुन्छ,” पोखरेलले बैठकमा भनेका थिए।
उनले आफूले ओलीलाई पार्टीको सर्वमान्य नेताका रूपमा स्वीकार गर्दै आएको उल्लेख गर्दै असहमति र आलोचनालाई नेतृत्वप्रतिको अविश्वासका रूपमा बुझ्न नहुने बताए। नेतृत्वले सबै कार्यकर्तालाई समान व्यवहार गर्नुपर्ने उनको भनाइ थियो।
पोखरेलले एमालेभित्र राजनीतिक, वैचारिक तथा सैद्धान्तिक विषयमा समस्या देखिएको दाबी गर्दै त्यसको असर पार्टीप्रति आम नागरिक र कार्यकर्ताको विश्वासमा परेको बताए।
उनका अनुसार राजनीतिक प्रतिवेदनमा आत्मसमीक्षा गर्ने तर व्यवहारमा भने पुरानै कार्यशैली दोहोर्याउने प्रवृत्तिले पार्टीलाई अपेक्षित दिशामा अघि बढाउन सक्दैन। पार्टी सुधारका लागि लामो मिहिनेतपछि तयार गरिएको कार्यदलको प्रतिवेदनलाई गम्भीरतापूर्वक लिनुपर्नेमा उनले जोड दिए।
जनताको चाहना र भावनालाई बेवास्ता गर्दै गरिने निर्णयले पार्टीलाई थप कमजोर बनाउन सक्ने भन्दै पोखरेलले नेतृत्वलाई व्यवहारमै सुधार र आत्मसमीक्षाको बाटोमा अघि बढ्न आग्रह गरे।






