११ माघ २०८२ काठमाडौँ
संवत् २०८२ साल माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। त्यस्तै फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत माघ १ गतेदेखि ९ गतेसम्म पहिलो हुने निर्वाचित हुने तथा समानुपातिक निर्वाचन प्रणालीसम्बन्धी विभिन्न महत्वपूर्ण कार्यहरू सम्पन्न भएका छन्।
निर्वाचन आयोगका अनुसार उम्मेदवारको मनोनयन पत्र दर्ता, दाबी–विरोध, छानबिन, उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन, मतपत्र तथा मतदाता नामावली छपाइलगायतका कार्य तोकिएको कार्यतालिका अनुसार सम्पन्न भइरहेका छन्। सो सम्बन्धमा संक्षिप्त विवरण यस प्रकार रहेको छः
(क) राष्ट्रिय सभा सदस्य निर्वाचन
राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत माघ ११ गते आज हुने मतदानका लागि आयोगले गर्नुपर्ने सम्पूर्ण तयारी पूरा गरेको छ। उम्मेदवारको मनोनयन पत्र दर्ता, दाबी–विरोध, छानबिन, अन्तिम नामावली प्रकाशन तथा निर्वाचन चिन्ह वितरणका सबै प्रक्रिया सम्पन्न भइसकेका छन्। निर्वाचनका लागि आवश्यक मतपत्रसमेत सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकिएको आयोगले जनाएको छ।
राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशमा तोकिएका मतदान केन्द्रहरूमा हुनेछ।
(ख) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ
प्रतिनिधि सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ माघ ६ गते उम्मेदवारहरूको मनोनयन पत्र दर्ता कार्य सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।
आयोगका अनुसार १६५ निर्वाचन क्षेत्रमा ६८ राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारसमेत गरी कुल ३ हजार ४ सय ८७ वटा मनोनयन पत्र दर्ता भएका छन्। दर्ता उम्मेदवारमध्ये ३ सय ९६ जना महिला, ३ हजार ९० जना पुरुष र १ जना अन्य रहेका छन्।
उम्मेदवार उपर दाबी–विरोधका रूपमा प्राप्त ५ उजुरीमध्ये कैलाली निर्वाचन क्षेत्र नं. १ का एक जनाको उम्मेदवारी खारेज भएको छ। तोकिएको समयसीमाभित्र ४९ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएको आयोगले जनाएको छ। आजै अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारहरूलाई निर्वाचन चिन्ह वितरण गर्ने कार्यक्रम रहेको छ।
(ग) समानुपातिक निर्वाचन प्रणालीतर्फ
प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ राजनीतिक दलले पेस गरेका उम्मेदवारको बन्दसूची माघ ४ गते सार्वजनिक गरिएको छ। उक्त सूचीमा ५७ निर्वाचन चिन्हमा ६३ राजनीतिक दलबाट पेस भएका ३ हजार २ सय १३ जना उम्मेदवारको नाम समावेश गरिएको छ।
बन्दसूचीमा समावेश उम्मेदवारको योग्यता सम्बन्धमा माघ ५ देखि १० गतेसम्म कार्यालय समयभित्र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा दाबी–विरोध उजुरी दर्ता गर्न सकिने व्यवस्था रहेको आयोगले जनाएको छ।
(घ) मतपत्र तथा मतदाता नामावली छपाइ
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ कार्य माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा सुरु भएको छ। हालसम्म करिब १ करोड ५० लाख मतपत्र छपाइ सम्पन्न भइसकेको छ भने ५० लाख मतपत्र छपाइ गर्न बाँकी रहेको छ।
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न भएलगत्तै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरिने आयोगले जनाएको छ। यसैगरी मनोनयन प्रयोजनका लागि एक प्रति मतदाता नामावली छपाइ गरी सबै जिल्लामा पठाइसकिएको छ भने बाँकी ३ प्रति छपाइको कार्य आयोग परिसरमै जारी रहेको छ।
(ङ) हानिकारक सूचना नियन्त्रण र सूचना सदाचार प्रवर्धन
निर्वाचनको स्वच्छता र निष्पक्षतामा असर पार्ने गलत, भ्रामक तथा द्वेषपूर्ण सूचनाको नियन्त्रणका लागि निर्वाचन आयोगअन्तर्गत सूचना सदाचार प्रवर्धन एकाइ (IIPU) पूर्ण रूपमा क्रियाशील रहेको छ।
IIPU को कार्यदक्षता अभिवृद्धिका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) को सहयोगमा e-Monitor Plus प्रणाली प्रयोगमा ल्याइएको छ। सो प्रणालीमार्फत कर्मचारीहरूको क्षमता अभिवृद्धि तालिमसमेत सम्पन्न गरिएको छ।
यस हप्ता विद्युतीय सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा फेला परेका ६ वटा पत्रबाट ९८ वटा हानिकारक सूचना सम्प्रेषण गर्नेहरूलाई कारबाहीका लागि नेपाल प्रेस काउन्सिल, नेपाल प्रहरीको साइबर ब्युरो तथा आयोगको केन्द्रीय निर्वाचन आचारसंहिता अनुगमन समितिमा पठाइएको आयोगले जनाएको छ। सामाजिक सञ्जालबाट हुने मिथ्या तथा भ्रामक सूचना नियन्त्रणका लागि प्लेटफर्म सञ्चालक कम्पनीहरूसँगको सहकार्यलाई समेत प्राथमिकतामा राखिएको आयोगको भनाइ छ।






