धादिङ । आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र निष्पक्ष रूपमा सम्पन्न गराउने उद्देश्यले धादिङ जिल्लामा क्रियाशील प्रमुख राजनीतिक दलका जिल्ला नेतृत्व र दुबै क्षेत्रका उम्मेदवारहरूबीच समन्वय बैठक सम्पन्न भएको छ।
नेपाली कांग्रेस धादिङको समन्वयमा मंगलबार बिहान धादिङबेसीमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला प्रमुख तथा प्रतिनिधिसभा क्षेत्र नं. १ र २ का उम्मेदवारहरूको सहभागिता रहेको थियो।
बैठकले धादिङ जिल्लामा निर्वाचनलाई शान्ति, अमनचयन र राजनीतिक–सामाजिक सद्भावका साथ सम्पन्न गर्ने साझा प्रतिबद्धता व्यक्त गरेको छ। सहभागी दल र उम्मेदवारहरूले जुनसुकै पार्टी वा व्यक्ति निर्वाचित भए पनि सन्तुलित तथा न्यायपूर्ण विकास, सुशासन, समतामूलक समाज निर्माण र सबै खालका विभेदको अन्त्यका लागि आपसी सहयोग र समन्वय गर्ने सहमति जनाएका छन्।
त्यसैगरी, निर्वाचन प्रचारप्रसारका गतिविधिहरूलाई शान्तिपूर्ण, सौहार्दपूर्ण, मैत्रीपूर्ण, मितव्ययी र मर्यादित बनाउने, मतदान प्रक्रियालाई स्वतन्त्र र निष्पक्ष राख्ने तथा सबै राजनीतिक दल र उम्मेदवारप्रति आदर र सम्मान कायम गर्ने प्रतिबद्धता गरिएको छ।
बैठकमा निर्वाचनका क्रममा उत्पन्न हुन सक्ने कुनै पनि विवाद वा असमझदारीलाई आपसी संवाद र समन्वयमार्फत समाधान गर्ने सहमति समेत भएको छ। साथै, निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण पालना गर्ने र गराउने प्रतिबद्धता सहभागी सबै पक्षले व्यक्त गरेका छन्।
सहमतिको प्रभावकारी कार्यान्वयनका लागि सरकार, निर्वाचन आयोग, राजनीतिक दल, उम्मेदवार, कार्यकर्ता, मतदाता, आम नागरिक तथा सञ्चारकर्मीहरूलाई सहयोग, निगरानी र खबरदारी गर्न हार्दिक अनुरोध गरिएको छ।
नेपाली कांग्रेस धादिङको अगुवाइमा सम्पन्न उक्त समन्वय बैठकलाई जिल्लामा शान्तिपूर्ण निर्वाचन वातावरण निर्माणतर्फको सकारात्मक पहल का रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0