धादिङबेसी , १८ माघ २०८२
आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पत्रकार महासङ को समन्वय मा प्रेस काउन्सिल नेपालले ‘निर्वाचन आचारसंहिता र मिडियाको भूमिका’ सम्बन्धी विशेष अन्तरक्रिया कार्यक्रम धादिङ जिल्लाबाटै सुरु गरेको छ।
सदरमुकाम धादिङबेसीमा आयोजित उक्त कार्यक्रममा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा मर्यादित बनाउन पत्रकार तथा सञ्चार माध्यमले निर्वाह गर्नुपर्ने जिम्मेवारीका विषयमा गहन छलफल गरिएको थियो।
कार्यक्रम प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले विशेष सम्बोधन गर्दै निर्वाचनको समयमा समाचार सम्प्रेषण गर्दा तथ्यपरकता, निष्पक्षता र जिम्मेवारी अत्यन्त आवश्यक रहेको बताइन्।
यस्तै, सूचना तथा प्रशारण विभागका महानिर्देशक छबिन्द्र पराजुली , प्रमुख जिल्ला अधिकारी बिजयराज सुवेदीले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न पत्रकार तथा सञ्चार संस्थालाई आग्रह गर्नु भयो ।
कार्यक्रममा सामाजिक सञ्जाल तथा डिजिटल मिडियाको प्रयोग बढिरहेको सन्दर्भमा गलत सूचना, अफवाह तथा भ्रामक सामग्री नियन्त्रणका लागि कडा नियमन र निरन्तर अनुगमन गरिने जानकारी पनि दिइएको थियो।
अन्तरक्रियामा सहभागी पत्रकारहरूले निर्वाचनको संवेदनशील समयमा मिडियाले लोकतन्त्र सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले आचारसंहिताको पालना सबैको साझा दायित्व भएकोमा जोड दिएका थिए।





