धादिङ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको आयोजनामा “जिम्मेवार पत्रकारिता, निर्वाचन रिपोर्टिङ र सामाजिक सञ्जालको प्रयोग” विषयक अन्तरक्रिया तथा पुरस्कार अर्पण कार्यक्रम धादिङबेसीमा सम्पन्न भएको छ।
कार्यक्रममा पत्रकारिताको मर्यादा, तथ्यमा आधारित समाचार प्रवाह, निर्वाचन अवधिमा पत्रकारले पालना गर्नुपर्ने पेशागत आचारसंहिता तथा सामाजिक सञ्जालको जिम्मेवार प्रयोगका विषयमा गहन छलफल गरिएको थियो। सहभागी वक्ताहरूले गलत सूचना, अफवाह तथा सामाजिक सञ्जालमार्फत फैलिने भ्रामक सामग्रीले लोकतान्त्रिक प्रक्रियामा पार्ने नकारात्मक असरबारे विशेष सतर्कता अपनाउनुपर्नेमा जोड दिएका थिए।
अन्तरक्रियाका क्रममा निर्वाचनजस्तो संवेदनशील समयमा सत्य, सन्तुलित र निष्पक्ष समाचार सम्प्रेषण गर्नु पत्रकारहरूको प्रमुख दायित्व भएको उल्लेख गरिएको थियो।
कार्यक्रममा पत्रकारितामार्फत समाज रूपान्तरणमा योगदान पुर्‍याएका पत्रकारहरूको कदर गर्दै यस वर्ष धादिङ जिल्लाका चार जना पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। सम्मानित हुने पत्रकारहरूमा केशव अधिकारी, पोषनाथ अधिकारी, आशिष ठकुरी र राजन अधिकारी रहेका छन्।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष सिताराम अधिकारीले जिम्मेवार पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।
कार्यक्रमले निर्वाचन अवधिमा पत्रकारिताको भूमिका थप जिम्मेवार, तथ्यपरक र मर्यादित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0