काठमाडौं, १९ माघ २०८२

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को पूर्वतयारी अन्तर्गत संयुक्त निर्वाचन सञ्चालन केन्द्र (JEOC) स्थापना, निर्वाचन आचारसंहिता कार्यान्वयन, निजी क्षेत्रसँग छलफल, कल सेन्टर सञ्चालन, हानिकारक सूचना नियन्त्रण तथा मतपत्र छपाइलगायतका महत्वपूर्ण कार्यहरू सम्पन्न गरेको छ।

संयुक्त निर्वाचन सञ्चालन केन्द्र (JEOC) स्थापना

निर्वाचन अनुगमन निर्देशिका, २०७९ को दफा ११ बमोजिम आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र (JEOC) स्थापना गरिएको छ। माघ ११ गते आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले केन्द्रको उद्घाटन गर्नुभएको हो। आयोगका सचिवको संयोजकत्वमा सञ्चालित केन्द्रमा गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागलगायत निकायका प्रथम श्रेणीका अधिकृतहरूको सहभागिता रहेको छ। केन्द्रले जिल्लास्तरबाट प्राप्त सूचनाको विश्लेषण गरी समस्या पहिचान र समाधानमा सहजीकरण गर्दै आएको छ।

निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइ

आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरीका लागि आयोगले ecn.coc@election.gov.np इमेलको व्यवस्था गरेको छ। उजुरीकर्ताको पहिचान गोप्य राखी आवश्यक कारबाही अघि बढाइने आयोगले जनाएको छ।

७७ वटै जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रमुख/कोष नियन्त्रकलाई आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ। उनीहरूले राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी तथा सरोकारवालासँग अन्तर्क्रिया, स्थलगत अनुगमन तथा स्पष्टीकरण सोध्ने कार्य गरिरहेका छन्।

त्यसैगरी निर्वाचन खर्चलाई पारदर्शी बनाउन नेपाल राष्ट्र बैंकमार्फत राजनीतिक दल तथा उम्मेदवारका लागि छुट्टै बैंक खाता सञ्चालनको व्यवस्था मिलाइएको छ। यससम्बन्धी “निर्वाचन अभियान बैंक खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२” समेत तयार गरिएको छ।

केन्द्रीय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरीमध्ये २१ वटामा स्पष्टीकरण सोधिएकोमा १२ वटाको जवाफ प्राप्त भइसकेको छ।

निजी क्षेत्रसँग छलफल

माघ १३ गते आयोगले निजी क्षेत्रका प्रमुख संघ–संस्थासँग छलफल गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शलगायत संस्थाहरूले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

कल सेन्टर र हानिकारक सूचना नियन्त्रण

माघ ५ गतेदेखि सञ्चालनमा आएको कल सेन्टरमा माघ १७ गतेसम्म १,६७७ जिज्ञासा प्राप्त भएका छन्। तीमध्ये सबैभन्दा धेरै मतदाता नामावलीसम्बन्धी रहेका छन्।

त्यस्तै मिथ्या, भ्रमपूर्ण तथा घृणास्पद सामग्री उत्पादन गर्ने १२० कन्टेन्ट उत्पादकलाई साइबर ब्युरो, ६ जनालाई दूरसञ्चार प्राधिकरण, १५ जनालाई प्रेस काउन्सिल र ३४ जनालाई आचारसंहिता अनुगमन समितिमा कारबाहीका लागि सिफारिस गरिएको छ।

मतदाता शिक्षा र अन्तर्राष्ट्रिय ब्रिफिङ

आयोगले हालसम्म १५८ वटा मतदाता शिक्षा सामग्री सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ। साथै माघ १५ गते कूटनीतिक नियोग तथा संयुक्त राष्ट्रसंघीय निकायलाई निर्वाचन तयारीबारे ब्रिफिङ गरिएको छ।

मतपत्र छपाइ

आयोगका अनुसार समानुपातिकतर्फ २ करोड ८ लाखभन्दा बढी मतपत्र र १० लाख ९८ हजार नमूना मतपत्र छपाइ सम्पन्न भइसकेको छ। प्रत्यक्षतर्फ हालसम्म २५ जिल्लाका ३० लाख मतपत्र छपाइ भइसकेको आयोगले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0