बद्री पौडेल
धादिङ, १० फागुन २०८२
धादिङमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को तयारी तीव्र गतिमा अघि बढाइएको छ, जिल्ला निर्वाचन कार्यालय धादिङको आयोजनामा आइतबार जिल्लास्थित सञ्चारकर्मीसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गर्दै निर्वाचन तयारीबारे जानकारी गराइएको हो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रशासन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। उहाँका अनुसार निर्वाचनको तयारी तीव्र रूपमा अघि बढिरहेको छ।
प्रजिअ सुवेदीले रुवीभ्याली गाउँपालिकाका पाँच मतदान स्थलमा सडक सञ्जाल नपुगेकाले मतपेटिका ढुवानी चुनौतीपूर्ण हुने उल्लेख गर्दै वैकल्पिक मार्गमार्फत मतपेटिका ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो। दुई निर्वाचन क्षेत्र रहेको धादिङको उत्तरी भेगमा भौगोलिक तथा पहुँचसम्बन्धी समस्या चुनौतीका रूपमा रहेको उहाँको भनाइ छ।
जिल्ला निर्वाचन कार्यालय धादिङका प्रमुख शिव गुरुङले गाउँ–गाउँमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार जिल्लाका १३ वटै पालिकामा एक–एक जना अनुगमनकर्ता तथा निर्वाचन सम्पर्क व्यक्ति खटाइएको छ भने १०४ जना स्वयंसेवक परिचालन गरिएको छ। निर्वाचनमा खटिने कर्मचारीहरूको विवरण संकलन गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकिएको र खटनपटन प्रक्रिया पनि सम्पन्न भइसकेको गुरुङले बताउनुभयो।
धादिङमा कुल ११४ मतदान स्थल र ३१० मतदान केन्द्र निर्धारण गरिएको छ। जिल्लामा कुल मतदाता संख्या २ लाख ७५ हजार २८० रहेको छ, जसमा १ लाख ४१ हजार १९ महिला, १ लाख ३४ हजार २५९ पुरुष र २ जना अन्य मतदाता रहेका छन्। त्यस्तै, अस्थायी मतदाताको संख्या २ हजार ८१८ रहेको छ भने एक अस्थायी मतदान केन्द्र कारागारमा तोकिएको छ।
निर्वाचनका लागि आवश्यक सामग्री प्राप्त भई व्यवस्थापन गरिसकिएको, नमूना मतदान कार्यक्रम सम्पन्न भएको, वडा तहमा मतदाता विशेष शिक्षा कार्यक्रम सञ्चालन भइरहेको तथा आचारसंहितासम्बन्धी सचेतनामूलक कार्यक्रम जारी रहेको गुरुङले जानकारी दिनुभयो। मतदान अधिकृत तथा सहायक मतदान अधिकृतका लागि अभिमुखीकरण कार्यक्रम भने छिट्टै सञ्चालन गरिने तयारी रहेको उहाँले बताउनुभयो।
निर्वाचन नजिकिँदै जाँदा प्रशासन र निर्वाचन कार्यालयले सबै पक्षसँग समन्वय गर्दै तयारीलाई थप प्रभावकारी बनाइरहेको जनाइएको छ।







