काठमाडौं , २०८२ फागुन १०, आइतबार
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा चुनावी प्रयोजनका लागि खटिने सुरक्षाकर्मी र कर्मचारीले आफू खटिएकै स्थानबाट मतदान गर्न पाउने भएका छन् । तर, उनीहरूलाई समानुपातिक प्रणालीतर्फ मात्रै मतदान गर्ने अधिकार दिइएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार यसपटक निर्वाचनमा कुल ५ लाख ५१ हजार ८९० कर्मचारी र सुरक्षाकर्मी खटिँदै छन् । आयोगले मुलुकभर १० हजार ९६७ निर्वाचनस्थल र २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरेको छ ।
निर्वाचन व्यवस्थापनका लागि निजामतीतर्फ मात्रै करिब २ लाख १३ हजार कर्मचारी खटिनेछन् । त्यस्तै, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र निर्वाचन प्रहरी गरी ३ लाख ३८ हजार ८९० सुरक्षाकर्मी परिचालन हुनेछन् ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार खटिने कर्मचारी र सुरक्षाकर्मीले आफू कार्यरत निर्वाचनस्थलमै समानुपातिकतर्फ मतदान गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
उनले भने, “आसन्न निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीले समानुपातिकतर्फ मतदान गर्न सक्नेछन् । उनीहरूले खटिएकै स्थानमा मतदान गर्न पाउने गरी आवश्यक सबै प्रबन्ध मिलाइएको छ ।”
आयोगले खटिने कर्मचारी तथा सुरक्षाकर्मीको तथ्यांक संकलन गरी उनीहरूका लागि छुट्टै मतदाता नामावली तयार गरिसकेको जनाएको छ । सो नामावली सम्बन्धित निर्वाचनस्थलमा पठाइनेछ । निर्वाचन अधिकृतले सोही नामावलीका आधारमा समानुपातिक मतपत्र उपलब्ध गराउनेछन् ।
सूचना अधिकारी सुमन घिमिरेका अनुसार, खटिने स्थान यकिन भइसकेकाले सोहीअनुसार मतदाता सूची तयार गरी सम्बन्धित स्थलमा पठाउने काम भइरहेको छ ।
४ हजार ६ सयभन्दा बढी मतदानस्थल अतिसंवेदनशील
निर्वाचन आयोगले निर्धारण गरेको १० हजार ९६७ मतदानस्थलमध्ये सुरक्षा संयन्त्रले विश्लेषणका आधारमा ४ हजार ६१४ स्थललाई अतिसंवेदनशील सूचीमा राखेको छ । यो कुल मतदानस्थलको करिब ३८.७६ प्रतिशत हो ।
प्रदेशगत रूपमा हेर्दा बागमतीमा १ हजार २८८ र मधेशमा १ हजार २४६ अतिसंवेदनशील स्थल छन् । बाँकी कोशी (४३९), गण्डकी (३२८), लुम्बिनी (४६२), कर्णाली (३५८) र सुदूरपश्चिम (४८१) मा रहेका छन् । उपत्यकामा १२ स्थल अतिसंवेदनशील मानिएका छन् ।
त्यस्तै, ४ हजार ४४२ मतदानस्थल संवेदनशील र २ हजार ८४५ स्थल सामान्य श्रेणीमा राखिएका छन् ।
अप्रत्यक्ष रूपमा खटिने कर्मचारीलाई पनि सुविधा
निर्वाचनमा प्रत्यक्ष खटिने मात्र होइन, अप्रत्यक्ष रूपमा खटिने सरकारी कर्मचारी र सुरक्षाकर्मीले पनि कार्यक्षेत्रबाटै समानुपातिकतर्फ मतदान गर्न पाउनेछन् । आयोगले उनीहरूका लागि पायक पर्ने स्थानमा अस्थायी मतदानस्थल स्थापना गर्ने जनाएको छ ।
भिभिआइपी तथा भिआइपी सुरक्षामा खटिने, सुरक्षा निकायका प्रधान कार्यालय, प्रदेश तथा जिल्ला कार्यालय, कारागार, बैंक, विमानस्थल, राष्ट्रिय निकुञ्ज, ठूला जलविद्युत् आयोजना लगायतका स्थानमा कार्यरत सुरक्षाकर्मीले यो सुविधा उपभोग गर्न सक्नेछन् ।
त्यस्तै, निर्वाचन आयोग, सिंहदरबार तथा प्रदेश र जिल्ला प्रशासन कार्यालयका कर्मचारीले पनि तोकिएको अस्थायी मतदानस्थलमा मतदान गर्न सक्नेछन् ।
अन्तरजिल्ला र विदेशमा रहेका नेपालीलाई मताधिकार अझै बहसमै
विदेशमा रहेका करिब ४० लाख नेपाली तथा देशभित्रै फरक जिल्लामा बसोबास गर्ने मतदातालाई मतदान अधिकार दिने विषय यसपटक पनि कार्यान्वयनमा आउन सकेन । कानुनी संशोधन तथा प्राविधिक जटिलताका कारण सम्भव नभएको आयोगले जनाएको छ ।
कारागारमा साढे ६ हजार मतदाता
यस निर्वाचनमा कैदीबन्दीले पनि विगतझैं समानुपातिकतर्फ मतदान गर्न पाउनेछन् । देशभरका ७४ कारागारमा रहेका २५ हजार ९७३ कैदीबन्दीमध्ये करिब २५ प्रतिशत, अर्थात् करिब ६ हजार ५ सय जनाको मात्रै मतदाता नामावलीमा नाम रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।
नागरिकता अभाव र मतदाता नामावली दर्तामा अनिच्छाका कारण अधिकांश कैदीबन्दी मताधिकारबाट वञ्चित भएको विभागको भनाइ छ ।
निर्वाचन आयोगको भनाइ:
“आसन्न निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीले समानुपातिकतर्फ मतदान गर्न सक्नेछन् । आवश्यक सबै तयारी पूरा गरिएको छ ।” – नारायणप्रसाद भट्टराई, प्रवक्ता, निर्वाचन आयोग।






