धादिङ बेसी
नेपाल शिक्षक महासंघ, जिल्ला कार्यसमिति धादिङले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत मतदान केन्द्रमा शिक्षक खटाउने विषयमा भएको निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ।
महासंघद्वारा जारी विज्ञप्तिमा राष्ट्रमा विकसित राजनीतिक घटनाक्रमका बीच फागुन २१ गते हुने निर्वाचन स्वच्छ, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न शिक्षकहरूले सधैं सहयोग गर्दै आएको उल्लेख गरिएको छ। तर, मतदान केन्द्रमा अन्य राष्ट्रसेवक कर्मचारीसँगै शिक्षकलाई खटाउने क्रममा अत्यन्त न्यून संख्यामा मात्र खटाइएको तथा निर्वाचन निर्देशिकाको मर्मविपरीत शिक्षकको पेशागत मर्यादालाई बेवास्ता गरिएको सूचनाहरू प्राप्त भएको महासंघले जनाएको छ।
विज्ञप्तिमा राष्ट्रको महत्वपूर्ण कार्यक्रमका रूपमा रहेको निर्वाचनमा मन, वचन र कर्मले सहयोग गर्नु शिक्षकहरूको कर्तव्य भए पनि मर्यादा विपरीत गरिएका निर्णयहरू स्वीकार्य नहुने स्पष्ट गरिएको छ। साथै, गलत निर्णयहरू तत्काल सच्याई सम्मानजनक वातावरणमा निर्णय गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ।
अन्यथा, मर्यादा विपरीत र अपमानजनक निर्णयहरूमा शिक्षकहरू सहभागी हुन बाध्य नहुने चेतावनी समेत महासंघले दिएको छ।
विज्ञप्तिमा नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङ, एकीकृत अखिल नेपाल शिक्षक संगठन धादिङ, नेपाल शिक्षक संघ धादिङ लगायतका संगठनका अध्यक्ष तथा सचिवहरूको हस्ताक्षर रहेको छ।





