काठमाडौँ, १८ फागुन ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै विज्ञापन बोर्ड ले राजनीतिक दल तथा उम्मेदवारका प्रचारप्रसारसम्बन्धी सामग्री आज मध्यरातिदेखि सञ्चारमाध्यमबाट हटाउन अनुरोध गरेको छ ।
बोर्डले आज सूचना जारी गर्दै अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित दल तथा उम्मेदवारसम्बन्धी सबै प्रकारका विज्ञापन राति १२ः०० बजेदेखि हटाउन आग्रह गरेको हो। मतदाता शिक्षासम्बन्धी निर्वाचन आयोग नेपाल र विज्ञापन बोर्डले उपलब्ध गराएका विज्ञापन बाहेक अन्य कुनै पनि प्रचार सामग्री प्रकाशन वा प्रसारण नगर्न भनिएको छ।
बोर्डका अनुसार पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत दल तथा उम्मेदवारका पक्ष वा विपक्षमा प्रचार हुने सामग्री मौन अवधिमा निषेध गरिएको छ। आचारसंहिताविपरीत सामग्री प्रकाशन वा प्रसारण गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डेद्वारा जारी सूचनामा मौन अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना, प्रचार सामग्री पोष्ट, शेयर वा प्रतिक्रिया दिन नहुने स्पष्ट पारिएको छ।
निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सबै सञ्चारमाध्यम र सम्बन्धित पक्षलाई बोर्डले आग्रह गरेको छ।