काठमाडौँ , २८ फागुन २०८२
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको अन्तिम मतगणना सम्पन्न भएको जानकारी दिएको छ। आयोगले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै समानुपातिकतर्फ विभिन्न राजनीतिक दलले प्राप्त गर्ने सिट संख्या निर्धारण गरिएको जनाएको हो।
आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० बमोजिम दलहरूले प्राप्त गरेको कुल सदर मतका आधारमा सिट बाँडफाँट गरिएको हो। समानुपातिक प्रणालीतर्फ तीन प्रतिशतको थ्रेसहोल्ड पार गरेका ६ राजनीतिक दलले प्रतिनिधिसभामा सिट पाउने भएका छन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार सिट संख्या यसप्रकार छः
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) — ५७ सिट
- नेपाली कांग्रेस — २० सिट
- नेपाल कम्युनिष्ट पार्टी (एमाले) — १६ सिट
- नेपाल कम्युनिष्ट पार्टी — ९ सिट
- श्रम संस्कृति पार्टी — ४ सिट
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) — ४ सिट
आयोगका अनुसार समानुपातिकतर्फको सम्पूर्ण मतगणना सम्पन्न भइसकेको छ। अब सम्बन्धित राजनीतिक दलहरूले आफ्नो बन्दसूची (क्लोज्ड लिस्ट) अनुसार प्रतिनिधिसभा सदस्यका नाम छनोट गरी तीन दिनभित्र आयोगमा पेश गर्नुपर्ने व्यवस्था रहेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ तथा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७८ बमोजिम दलहरूले समावेशी सिद्धान्तअनुसार उम्मेदवार चयन गर्नुपर्ने आयोगले जनाएको छ।
निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा तोकिएको समयसीमाभित्र दलहरूले नाम सिफारिस गर्न आग्रह गरिएको छ।






