काठमाडौं — महालेखा नियन्त्रक कार्यालयले सेवा निवृत्त राष्ट्रसेवक कर्मचारीका लागि पेन्सन सेवालाई थप सरल, सहज र प्रविधिमैत्री बनाउने उद्देश्यले e-Pension Verification System सुरु गरेको छ। यो प्रणाली अर्थमन्त्री डा.  स्वर्णिम वाग्ले ले २०८२ चैत २७ गते औपचारिक रूपमा शुभारम्भ गरेका हुन्।

कार्यालयका अनुसार अब सेवा निवृत्त निजामती, शिक्षक, नेपाली सेना तथा प्रहरी कर्मचारीहरूले पेन्सन व्यवस्थापन कार्यालय (Pension Management Office) को वेबसाइट pension.gov.np मा गई IPMS-V2 प्रणालीमार्फत आफ्नै घरबाट पेन्सनसम्बन्धी सेवा लिन सक्नेछन्। प्रणाली प्रयोगसम्बन्धी जिज्ञासा वा कठिनाइ भएमा IPMS Video Tutorial समेत उपलब्ध गराइएको छ।

यस नयाँ प्रणाली लागू भएसँगै सेवा निवृत्त कर्मचारीहरूले हरेक वर्ष पेन्सन लिइरहेको बैंकमा भौतिक रूपमा उपस्थित भई प्रमाणिकरण गराउनु पर्ने बाध्यता अन्त्य भएको छ। साथै, पेन्सन खाता खोल्नका लागि पेन्सन व्यवस्थापन कार्यालयमा अनिवार्य रूपमा उपस्थित हुनुपर्ने व्यवस्था पनि हटाइएको छ।

महालेखा नियन्त्रक कार्यालयका सहमहालेखा नियन्त्रक एवं प्रवक्ता दीपक लामिछानेले यस प्रणालीले पेन्सन सेवा अझ छिटो, मितव्ययी र प्रभावकारी हुने अपेक्षा गरिएको बताएका छन्।

सरकारले डिजिटल सेवाको विस्तार गर्दै नागरिकलाई सहज सेवा प्रदान गर्ने लक्ष्यअनुसार यो कदम महत्वपूर्ण मानिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1