धादिङ , २९ बैशाष २०८३
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको प्रणालीमा आएको प्राविधिक समस्याका कारण राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा बैशाष २१ गते देखि अवरुद्ध हुँदा धादिङमा आज २९ गते सम्म पनि सेवाग्राहीहरू सेवा नपाउदा समस्यामा परेका छन् ।
जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकीय अधिकृत राममणि मिश्रका अनुसार राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (NIDMIS) मा समस्या देखिएपछि राष्ट्रिय परिचयपत्रसँग सम्बन्धित सेवा प्रभावित बनेको हो ।
“प्रणालीमा समस्या देखिएकाले सेवाग्राहीहरू काम नभई फर्किनुपर्ने अवस्था छ,” प्रशासकीय अधिकृत मिश्रले भन्नुभयो, “समस्या समाधानका लागि सम्बन्धित निकायले काम गरिरहेको जानकारी प्राप्त भएको छ ।”
उहाँका अनुसार नयाँ राष्ट्रिय परिचय नम्बर (NIN) प्राप्त गर्ने, विवरण सच्याउने, बायोमेट्रिक अद्यावधिक गर्ने लगायतका सेवा प्रभावित भएका छन् । यसका कारण राहदानी, सामाजिक सुरक्षा भत्ता, बैंकिङ तथा अन्य सरकारी सेवा लिन आएका नागरिकहरू दैनिक रूपमा प्रभावित भइरहेका छन् ।
लामो समयसम्म सेवा सञ्चालन हुन नसक्दा जिल्ला प्रशासन कार्यालय धादिङमा आउने सेवाग्राहीहरू निराश बनेका छन् । कार्यालयले प्रणाली सुचारु भएपछि सेवा नियमित गरिने जनाएको छ ।






