चन्द्रागिरिमा चक्कु प्रहारबाट युवकको मृत्यु, अभियुक्त पक्राउ
काठमाडौँ, ३ जेठ । राजधानीको काठमान्डौ स्थित चन्द्रागिरी नगरपालिका वडा नं ३ थानकोटमा सालो–भिनाजुबीच भएको घरायसी विवाद दुःखद घटनामा परिणत भएको छ । सामान्य भनाभनबाट सुरु भएको विवाद चक्कु प्रहारसम्म पुगेपछि एक युवकको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार महोत्तरी घर भएका समी अहमद र उनका सालो जाकिर मन्सुरीबीच गएराति घरायसी विषयलाई लिएर विवाद भएको थियो । विवाद चर्किंदै जाँदा भिनाजु समी अहमदले जाकिरमाथि धारिलो हतियार प्रहार गरेका थिए । गम्भीर घाइते भएका जाकिरको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।
घटनापछि स्थानीय क्षेत्रमा त्रास र तनाव फैलिएको थियो । सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार घटनामा संलग्न समी अहमदलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मृतक मन्सुरीको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घटनाको वास्तविक कारण र विवादको पृष्ठभूमिबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रहरीले पारिवारिक तथा घरायसी विवादलाई समयमै समाधान गर्न नसक्दा यस्ता दुःखद घटना हुने गरेको उल्लेख गर्दै संयमता अपनाउन सबैलाई आग्रह गरेको छ






